विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारामा भएको उपनिर्वाचनमा उम्मेदवार बनेका रमेश खरेलले पार्टी परित्याग गरेका छन् । नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत रहेका खरेलले बुधबार रास्वपासँगको आबद्धता त्यागेका गरेका हुन् ।
टेलिभिजन कार्यक्रममा पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछानेको टिप्पणी गरेपछि खरेललाई पार्टीले स्पष्टीकरण सोधेको थियो । त्यसपछि उनले पार्टी त्याग गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट आजदेखि औपचारिक रुपमा अलगिएको बेहोरा यहाँहरु सबै माझ जानकारी गराउन चाहन्छु र आउँदा दिनमा ‘एन्टी करप्सन नेटवर्क’सँग आबद्ध हुनेछु।यहाँहरुको साथ र समर्थन सँधै झैँ रहने छ भन्ने आशा गर्दछु।’
उनले अंग्रेजीमा लेखेर राजीनामा बुझाएका हुन्। गहन विचारपछि आफू राजीनामाको निष्कर्षमा पुगेको खरेलले राजीनामा पत्रमा उल्लेख गरेका छन् । राजीनामा पत्रमा खरेलले भनेका छन्, ‘तुरून्तै लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैले आधिकारिक रूपमा राजीनामा लेखिरहेको छु। गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ। अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दछु, यद्यपि पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग मेरो विचार र प्राथमिकता मिल्न सकेन ।’