Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

३५ मतले जितेका बुर्जा मगरलाई पाखा लगाउँदा माओवादीमा बबन्डर



फाइल तस्बीर : नारायण बुर्जा मगर

विराटनगर : गत मंसिरको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवराज राईलाई ३५ मतले हराएर दोस्रोपटक प्रदेशसभा सदस्य भएका उदयपुरका नारायण बुर्जा मगरलाई मन्त्री नबनाएपछि माओवादीभित्र असन्तुष्टि सिर्जना भएको छ ।

पहिलो कार्यकालमा मन्त्री हुन खोज्दा नभएका बुर्जा मगर यो पटक एमालेसँग मिल्दा सुरुमै मन्त्री हुन चाहान्थे । माओवादीमा दोहोर्याएर चुनाव जित्नेमा संसदीय दलका नेता इन्द्र आङ्बो र मगर मात्रै हुन् ।

नेकपा एमालेको सरकार ढलेपछि उनी पहिलो लटमा नै मन्त्री हुन चाहन्थे । तर, विवादले कोही मन्त्री भएनन् । दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार हुँदा प्रचण्डका ज्वाईं जीवन आचार्य र संखुवासभाका राजेन्द्र कार्की मन्त्री भए । तर, मगरको नाम आइतबार पनि आएन ।

नाम नआएपछि उनले सचिवालयमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वेलीप्रेससँग कुरा गर्दै मगरले भने, मेरो निर्वाचन क्षेत्रका जनताको धेरै अपेक्षा थियो, धेरै फोन आइरहेको थियो, थाम्न नसकेपछि आफ्नो कुरा बाहिर राखेको हो । आवश्वय परे राजीनामा दिन्छु ।

गत निर्वाचन उनी ८ हजार १०५ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्दी देवराज राईले ८ हजार ७० मत ल्याएका थिए । असार १५ गते एमालेका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने बेलामा बुर्जामगर हाजिर भएर मतदानमा सहभागी भएका थिएनन् ।

माओवादीभित्र दोस्रोपटक थोरै मतले जितेर प्रदेशसभाको यात्रा गर्ने उनी भाग्यमानी सांसद हुन् । त्यसो त उनले मन्त्री नपाइरहँदा संखुवासभामा एमालेका भविश्वर गुरुङलाई ३४ मतले हराएका राजेन्द्र कार्की विनाविभागीय मन्त्री भए । कार्कीले १३ हजार ४३३ मत ल्याउँदा गुरुङले १३ हजार ३९९ मत ल्याएका थिए ।

आइतबारको मन्त्रिपरिषद् विस्तारमा माओवादीका सांसदहरुले समेत असन्तुष्टि व्यक्त गरेका थिए । केही सांसदले चित्त नबुझेपनि बोल्न नसकिने बताइरहेका थिए ।

यो पनि : ३५ मतले जितेका बुर्जा मगरलाई पाखा लगाउँदा माओवादीमा बबन्डर

प्रतिक्रिया
सम्बन्धित समाचार