Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशको कृषि क्षेत्रको विकासमा २ अर्ब ७ करोड



विराटनगर : कोशी प्रदेश सरकारले कृषि क्षेत्रको विकासमा २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि क्षेत्रको रुपान्तरण, व्यवसायीकरण र विविधीकरणका लागि रु। २ अर्ब ७ करोड विनियोजन गरेको जानकारी दिए ।

सरकारले खाद्यान्नको उत्पादकत्व सुधारका लागि उन्नत बीउको आपुर्ति सुनिश्चित गर्न गुणस्तरीय बीउ उत्पादन तथा प्रशोधन पूर्वाधार र बीउ उत्पादकहरुको क्षमता विकासका ‘उन्नत वीउको आपुर्ति, कृषि उत्पादनको बृद्धि’ कार्यक्रम ल्याउने भएको छ ।

प्रदेशमा मकै खेती प्रवद्र्धनका लागि २ करोड ४७ लाख बजेट विनियोजन भएको छ । चियाको गुणस्तरीय हरियो पत्ती उत्पादनमा संलग्न कृषक तथा मजदुरलाई समान रुपमा प्रोत्साहन उपलब्ध गराउन सरकारले ४ करोड १० लाख विनियोजन गरेको छ ।

यस्तै आर्थिक वर्ष २०७९÷८० वाट शुरु गरिएको दुध उत्पादनमा प्रति लिटर दुई रुपैयाका दरले उपलब्ध गराउने अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै यसका लागि११ करोड ८१ लाख बजेट विनियोजन भएको छ ।
कृषि उपजको ब्यवस्थित बजारिकरणका लागि स्थानीय तह मार्फत कृषि बजारको संरचना निर्माण तथा सुदृढीकरणका लागि कोशी प्रदेश सरकारले ७ करोड २० लाख रुपैयाँ छुट्टाइएको मुख्यमन्त्री कार्कीले बताए ।

पहाडी क्षेत्रमा बाँझो रहेका जमिनमा ब्यवसायिक रुपमा फलफूल खेती गर्न ३ करोड १२ लाख, पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयनका लागि १० करोड ५० लाख विनियोजन भएको छ ।

सकरारले स्थानीय तहमा प्राङ्गारीक मल उत्पादन पुर्वाधार निर्माणमा ३ करोड ४० लाख सहयोग गर्ने भएको छ । ब्यवसायिक पशुपालनका लागि उच्च नश्लका पशुहरुको उपलब्धताका लागि कृषक समूह तथा सहकारी संस्थाहरु मार्फत उन्नत गाई, भैसी, बाख्रा, बंगुरपालन प्रवद्र्धनका लागि रु. २ करोड २५ लाख रुपैयाँ विनियोजन भएको छ ।

सरकारले ‘एक स्थानीय तह, एक उत्पादन कार्यक्रम’ अन्तरगत मौरीपालन, फलफूल खेती, पुष्पखेती, तेलहन बाली उत्पादन र मकैबाली प्रवद्र्धन गर्न सिंचाई समेतको लागि ७ करोड ८० लाख, पशु प्रवद्र्धन तथा दुग्ध चिस्यान केन्द्र स्थापना र छुर्पी उत्पादनका लागि ५ करोड ५० लाख रुपैया बजेटमा समावेश गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार