Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

छोरीलाई दाइजो होइन शिक्षा दिनुपर्छ : ओली



वीरगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाइजोका लागि बार्गेनिङ हुने मधेस प्रदेशको वीरगन्जमा पुगेर छोरीलाई दाइजो नभई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको भ्रातृ संगठन अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासंघको प्रथम राष्ट्रिय भेलालाई बुधबार वीरगन्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘हाम्रो मुख्य जोड गुणस्तरीय शिक्षामा हुनुपर्छ दाइजोमा होइन,’ उनले भने । राम्रो शिक्षा पाएर छोरी डाक्टर, इन्जिनियर भएर ३–४ लाख कमाउन थाले भने दुलाहा खोज्नैपर्दैन । बरु दिल्ली, बम्बई र भारत त के अमेरिका बेलायतबाट समेत दुलाहा लाइन लाग्छन् । त्यसैले, छोरी जन्मँदा दुःख मान्ने र नपढाउने गर्नु नहुने उनले बताए । ‘पढाउनसके छोरीहरूले आफ्नै खुट्टामा टेकेर स्वदेशमै राम्रो आम्दानी गर्न सक्छन्,’ आफ्ना नेता कार्यकर्ता र सहभागीलाई सुझाव दिँदै ओलीले भने ।

हरेकले रोजगारी प्राप्त गर्नुपर्छ, हरेकले आम्दानी कसरी बढाउने भन्ने मनन गर्नुपर्छ भन्दै अध्यक्ष ओलीले यसका लागि हरेक घर परिवारका सदस्यले समेत सोच्ने समय आइसकेको बताए । ‘समृद्धि हरेक घर–घरको सजगताले मात्र सम्भव छ,’ ओलीले भने ।

दिनभरि कमाएर साँझ परेपछि भट्टस्मा पसेर टन्न जाँड खाने कार्य गर्न नहुने भन्दै ओलीले आफ्नो आनी–बानीमा सुधार गर्नु जरुरी भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार