विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा औधोगिक करिडोर क्षेत्रका उद्योगको विगत र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उद्योग क्षेत्रमा रहेका टेक्साइल, जुट, चिनी लगायतका विभिन्न उद्योग बन्द हुनुका कारण तथा कृषि र उद्योग क्षेत्रका जोखिमका बारेमा सरोकारवालाहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतले माग पक्षको पर्याप्त अध्ययन विना उद्योग स्थापना वा सञ्चालन गर्दा अतिरिक्त जोखिम हुने बताए । उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने नीति र अभ्यास नहुँदा समस्या आइरहेको बताए ।
अत्याधिक विद्युत कटौतीका कारणले उत्पादन लागत उच्च हुने र सरकारले पुँजीगत खर्च गर्न नसक्दा कतिपय उद्योगमा विना अध्ययन उद्योग खोल्न वा सञ्चालन गर्न कठिन रहेको राउतको भनाइ छ ।
यस्तै रिलाएन्स स्पिनिङ उद्योगका महेश पोख्रेलले टेक्सटाइल उद्योग विश्वको औधोगिक क्रान्ति र आर्थिक विकासको प्रमूख आधार रहेको बताए ।
प्रगति टेक्स्टाइललका प्रदिप निरौलाले नेपाल सरकारले टेक्स्टाइल उद्योग बचाउनका लागि गैर कानुनी रुपमा कपडा पैठारी रोक्नु नै पर्याप्त हुने बताए । कपडाको खपत सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै उनले वार्षिक ८० करोड मिटर कपडा माग नेपालमा भएकोमा आन्तरिक उत्पादन करिव ६ करोड मिटर र आयात करिव ४ करोड मिटरको तथ्यांक मात्र सरकारसँग रहेको बताए । यसबाट कपडाको गैरकानुनी आयात कति छ भन्ने स्पष्ट रहेको उनको तर्क छ ।
रघुपती जुट मिलका निर्देशक सोमनाथ अधिकारीले जुट उत्पादन बन्द हुनु वा उद्योग रुग्ण हुनुको मुख्य कारण भारतले लगाएको एन्टी डम्पीङ नीति अन्तरगतको नियन्त्रण रहेको बताए । भारतमा कुल जुट उत्पादनको बजारको २ प्रतिशत भन्दा कम हिस्सा भएको नेपाल जुटका उत्पादनलाई रोक्नुपर्ने कारण नभए पनि नेपाल सरकारले पर्याप्त कुटनीतिक प्रयास गर्न नसक्दा हालसम्म बन्देज नहटटेको उनले बताए ।
बैक तथा वित्तीय संस्थाले सहज ऋण प्रवाह नगर्नु तथा ऋणको ब्याज उच्च हुनु, बजारमा श्रमीकको सहज उपलब्धता नहुनु, विद्युत आपुर्ती असहज हुनु जस्ता कारणले औधोगिक उत्पादनको लागत उच्च भएका कारण उद्योग घाटामा जाने र अर्थतन्त्र गम्भिर संकटमा पुग्नसक्ने तर्फ सचेत रहनुपर्ने सहकागिहरुको धारणा रहेको थियो ।