Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विभिन्न पार्टी परित्याग गरी उदयपुरको रौतामाईमा दर्जनबढी एमालेमा प्रवेश



विराटनगर : विभिन्न पार्टी परित्याग गरी उदयपुरको रौतामाई गाउँपालिकामा एक दर्जन बढी नेता कार्यकर्ता नेकपा एमालमा प्रवेश गरेका छन् । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधबार वडा नम्बर ३ कमिटीले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादी, जसपा र नेकपा एकीकृत समाजवादी पार्टीबाट करिब एक दर्जन एमालेमा प्रवेश गरेको नेकपा एमाले रौतामाई गाउँ कमिटीका अध्यक्ष केशव राईले जानकारी दिए ।

उनीहरुलाई एमाले नेता तथा बेलका नगरपालिकाका पूर्व मेयर दुर्गाबहादुर थापा लगायतले पार्टीमा स्वागत गरेका हुन् ।

नेकपा माओदावी रौतामाई गाउँ कमिटी सचिवालय सदस्य मन्जु कार्कीसहित स्थानीय नेताहरु शुस्मा परियार, गणेश परियार र लन्कमाया परियार एमालेमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसबाट गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार बनेकी गोमा परियारसहित हर्कराज राई र उमेश परियार एमाले प्रवेश गरेका हुन् ।

यस्तै गत स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडा सदस्यको उम्मेदवार लिलभक्त कार्की पनि एमाले प्रवेश गरेका छन् । उनीसँगै सो पार्टीबाट बिष्णु कार्की र भेषराज बस्नेत तथा जसपाबाठ हुपसेर राई एमालेमा प्रवेश गरेका हुन् ।

यसैगरी एमालेले रौतामाई ३ लाफागाउँका पहलमान थापाको श्रीमतिको उपचारमा आर्थिक सहयोगसमेत गरेको छ । गाउँ कमिटी अध्यक्ष राईका अनुसार सुगर रोग लागेर थला परेकी कमला थापालाई पार्टीको तर्फबाट रु १४ हजार ९०० आर्थिक सहयोग प्रदान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार