विराटनगर : बैंक तथा वित्तीय संस्थाहरुबाट बैंक व्याज लगायतका सम्वन्धमा भएको निर्णयबाट उद्योग क्षेत्रमा परेको असरका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएकाले व्यवसायीहरु यसको विरोधमा उत्रिने भएका छन् ।
गत कार्तिक ३ गते नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा प्रदेश नं. १ का उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएट सदस्यहरुको अन्तरक्रिया कार्यक्रमबाट विरोध गर्ने निर्णय भएको थियो । शुक्रबार बसेको कार्यसमितिको बैठकले विरोधको कार्यक्रम तय गरेको छ ।
कार्तिक २२ गते विहान ११ बजे सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा जिल्ला वा नगर स्थित बैंक तथा वित्तीय संस्थाहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले जनाएको छ ।
कार्तिक २३ गते बैंकसंग कुनैपनि कारोवार नगर्ने तथा २ घण्टा प्ले कार्ड सहित मौन जुलुस गर्ने, २५ गते विहान नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को सचिवालयमा भेला भई प्रदेश नं. १ का मुख्यमन्त्रीज्यू, एवं नेपाल राष्ट्र बैंकमा प्ले कार्ड सहित धर्ना दिने कार्यक्रम रहेको छ ।
२८ गते नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीति विरुद्ध नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यालयमा दवाव दिन भेला हुने महासंघले जनाएको छ ।
कार्यक्रममा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघका अध्यक्ष, कार्यसमितिका पदाधिकारी एंव सदस्यज्यूहरु अनिवार्य उपस्थित हुनुपर्ने महासंघका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए ।