विराटनगर : आगामी मंसिर ४ मा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि पूर्वी पहाडी जिल्ला खोटाङमा एउटै वडाबाट तीन नेताले उम्मेदवारी दर्ता गरेका छन् ।
खोटाङको प्रदेशसभा (क) बाट नेकपा एमालेका पाँचकर्ण राई (पिके), नेकपा (एकीकृत समाजवादी) का बीरवलकाजी राई र जनता समाजवादी पार्टीका राकेश राई चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु तीनै जना दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ का हुन् ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर तीनै जनाले प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।
एक संघीय निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभा (क) मा ९ र प्रदेश (ख) मा ६ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कायर्नलयले जनाएको छ ।