सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र प्रेम गीत ३ असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ । दुई वटा सिक्वेलले राम्रो सफलता पाएको प्रेम गीत ३ चासोका रुपमा हेरिएको छ । प्रेम गीत ३ लाई हिन्दीमा डबिङ गरेर भारतमा पनि सोही दिनबाट प्रदर्शन गर्ने तयारी गरिएको छ ।
फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका थिए । फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् । फिल्म निर्माणकै क्रममा गुरुङको निधन भएको थियो ।
फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, प्रेम पुरी, अनुभव रेग्मी लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
गीत र ट्रेलरबाट निकै राम्रो चर्चा कमाएको यस फिल्म दर्शकमाझ प्रतिक्षित बनिरहेको छ । फिल्मलाई लिएर दर्शक निकै आशावादी रहेको पाइन्छ । गीत र ट्रेलरमा आएको प्रतिक्रिया हेर्दा फिल्म हेर्न दर्शक उत्साहित देखिन्छन् । हिन्दी भर्जनले दर्शक अझ बढी उप्साहित भएको पाइन्छ ।
प्रेम गीत ३ को टिम यतिबेला चलचित्रको प्रचारप्रसार गर्न देश दौरानमा छ । यसै क्रममा शनिबार विराटनगर आएको चलचित्र टिमसँग पूवेली प्रेसले चलचित्रका विभिन्न विषयमा केन्द्रित भएर गरेको कुराकानीको सम्पादित अंश :
प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिट फिल्मको प्रचार प्रसारमा लागिरहेको छ । फिल्मलाई आएको प्रतिक्रियाबाट निर्माण युनिट पनि खुसी देखिन्छ ।
चलचित्रका कार्यकारी निर्माता चक्र बहादुर चन्दले भने, ‘हामी सबैले सक्दो मिहिनेत गरिसकेका छौं । अब फिल्म सफल हुने वा नहुने सम्पूर्ण जिम्मेवारी दर्शकको हातमा छ ।’
यो फिल्म व्यक्ति विषेश नभई देशको गरिमासँग जोडिएको र बलिउड प्रवेश गर्नु आफैमा चुनौती भएको उनले बताए । ‘बलिउडबाट पनि राम्रो प्रतिक्रिया पाएका छौँ,’ उनले भने, ‘यो फिल्म फिल्ममात्र नभई मित्र राष्ट्रबिचको सम्बन्ध सुधार गर्ने माध्यम पनि हो ।’
हिजो बलिउडका सिनेमा हेरेर हुर्किरहँदा आफ्नै फिल्म प्रदर्शन गर्न पाउनु खुसीको कुरा भएको उनले बताए ।
प्रेम गीत ३ कलाकार मनिस राउतको डेब्यू फिल्म हो । फिल्मको क्यारेक्टर तथा विषयबस्तु एकदमै मन परेकाले प्रेम गीतमा काम गरेको मनिस बताउँछन् । युद्धविर राजाको भूमिकामा रहेका भेट्रान कलाकार शिव श्रेष्ठका दुई छोरामध्ये मनिसले एक छोराको भूमिका निर्वाह गरेका छन् । अर्का छोरा चलचित्रका मुख्य नायक प्रदीप खड्का हुन् ।
–२९ डिग्रीको चिसोसम्म रहेर काम गर्न निकै कठिन भएको सुनाउँदै राउतले फिल्मले सोचेभन्दा बढी सफलता पाउने बताए । ‘हामीले –२९ डिग्रीसम्मको चिसोमा सबै जनाले सक्दो काम गरेका छौँ,’ मनिस भन्छन्, ‘चलचित्रमा पाएको पात्रको भूमिकालाई न्याय गर्न पनि मैले निकै मिहिनेत गरेको छु ।’
फिल्मका लागि आफूले धेरै मिहिनेत गरेको र त्यो मिहिनेतलाई दर्शकले प्रशंसा गर्नेमा उनी विश्वस्त छन् । ‘समय अनुसारको विषयवस्तु समेटेर चलचित्र बनाउँदा दर्शकहरुले मन पराउँनुहुँदै रैछ,’ उनी भन्छन्, ‘प्रेम गीतले दर्शकहरुको मन जित्नेछ ।’
चलचित्रमा प्रेम पुरी मुख्य सैनिकको भूमिकाको रुपमा छन् । राज्यलाई एउटा सैनिक प्रमुखले कसरी सही बाटोमा लैजान दिशा निर्देश गर्नुपर्छ त्यो कुराको आफूले चलचित्रबाट सन्देश दिन खोजेको पुरी बताउँछन् ।
‘चलचित्रका धेरै कुराहरु गीत र ट्रेलरबाट पनि थाहा पाउन सकिन्छ’ पुरी भन्छन्, ‘तर सबै विषय वस्तु बुझ्नलाई पुरा फिल्म हेर्नुपर्छ ।’
‘नेपालमा पछिल्लो बलिउडका फिल्मप्रति बढ्दो अकार्षण छ, तर नेपालले आफ्नो उत्पादन भारतीय बजारमा प्रदर्शन गर्न पाउनु गर्वको कुरा हो’, उनले भने ।