विराटनगर ६ स्थित विराट बहिरा माध्यमिक विधालय अपाङ्गता भएको बालबालिकाको लागि संचालित विधालय हो । २०६२ सालमा १० जनाबाट सुरु भएको विधालयले अहिले प्रदेश १ कै नमुना बहिरा विधालयको रुपमा पहिचान बनाएको छ । बहिरा विधार्थीलाई कसरी पढाइन्छ ? यहाँबाट पढसकेपछि उनीहरुको जीवनस्तरमा पारेको प्रभाव, विद्यालय सञ्चालनको चुनौती र समस्या लगायतका विषयमा पूवेर्ली प्रेसका लागि प्रेस तिम्सिनाले विधालयकी प्रधानध्यापक मिनु अधिकारीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश :
विराट माध्यमिक विधालय कसरी संचालन भइरेहेको छ ?
विराट माध्यमिक विधालय सामुदायिक विधालय सरह नै संचालन भइरहेको छ । यस विधालयमा बहिरा बालबालिका पढिरहेका छन् । सांकेतिक भाषाबाट यहाँ अध्ययन हुने गरेको छ । अन्य सामुदायिक विधालय सरह नै विराट बहिरा माध्यमिक विधालयलाई नेपाल सरकारले सहयोग गर्ने गरेको छ ।
विधालयमा कति जना विधार्थी छन् ?
यस विराट बहिरा माध्यमिक विधालमा २ सय २५ जना विधार्थी छन् । विशेष गरि यहाँ कान नसुन्ने विधार्थी बढि छन् ।

प्रधानध्यापक अधिकारीसँग कुरा गर्दै पत्रकार तिम्सिना / तस्बीर : पूवेर्ली प्रेस
विधालयमा भौतिक संरचना कस्तो छ ?
हिजोको अवस्था जस्तो त छैन् । अहिले त पुगि नै रहेको छ । तर छात्रावासको भने अभाव छ । हामीले एकदमै अफ्ठयारो गरेर छात्रावास संचालन गरिरहेका छौं । छात्रावासमा नेपाल सरकार र अन्य संघ संस्थाको सहयोग पाए पनि त्यो पर्याप्त नरहेको अवस्था छ । छात्रावासमा एक जना विधार्थीलाई मासिक ४ हजार खर्च हुने गरेको छ । हामीले २०६२ सालमा स्थापना गर्दा विधालय १०–१२ जनाबाट सुरु गरेको थियौं । त्यसबेलाका कतिपय साथीहरु दरबन्दी मिलान भएका छन् । तर त्यसबेला सहयोग गरेका कार्यालय सहयोगी, सुरक्षा गार्ड र भान्सेको दरबन्दी मिलान नभएकाले गर्दा १८ वर्ष विधालयमा सेवा गर्दा विदा हुने बेलामा चाहि खाली हात जानुपर्ने अवस्था छ । उनीहरुको लािग सरकारबाट त्यस्तो किसिमको सुविधा भए अझ राम्रो हुने थियो ।

ब्लक निर्माण गर्न काम गर्दै विद्यार्थी / तस्बीर : पूवेर्ली प्रेस
विधालयप्रति अभिभावकको धारणा कस्तो पाउनु भएको छ ?
अभिभावकहरु एकदमै खुसी हुनुहुन्छ । यदी यो विधालय नभएको भए आज हाम्रो छोराछोरी पढ्न पाउदैन्थे भन्छन् अभिभावकहरुले । बहिरा काठमाडौंमा कि पोखरा रहेको छ । यो विधालय यहाँ भएकाले गर्दा नै सांकेतिक भाषामा पढ्न पाएका छन् यहाँका बालबालिकाले । बहिरा बालबालिकाहरुले के गर्न सक्छ भन्ने मानसिकता अहिले पनि हाम्रो समाजमा रहेको छ । तर यो विधालय खुलेपछि पुर्वका धेरै अभिभावकहरुले खुसी व्यक्त गर्ने गरेका छन् । विधालयमा हामीले विधार्थीहरुलाई प्राविधिक ज्ञान पनि दिइरहेका छौं । अभिभावकहरु पनि बहिरा बालबालिकाले केहि गर्न सक्छन् भन्ने विश्वास बढेको हामीले पाएका छौं ।

बहिरा विद्यार्थीले निर्माण गरेको ब्लक / तस्बीर : पूवेर्ली प्रेस
विधालयबाट पास आउट भइसकेपछि उनीहरुको जीवनस्तर कस्तो पाउनु भएको छ ?
वास्तवमा हामीले विधालय संचालन गरेको १८ वर्ष भयो । यहाँबाट पास आउट भएर गएका विधार्थीको जीवनस्तर राम्रो हुँदै गएको हामीले पाएका छौं । विधार्थीकालका सयमा हामीले सैद्धान्तिक ज्ञानका साथसाथै प्राविधिक शिक्षा दिएको हुनाले उनीहरुले विभिन्न व्यपार व्यवसायमा संल्गन रहेको पायौं । अभिभावकहरु पनि बेला बेलामा विधालयमा आउने गर्नु भएको छ । वहाँहरुको अनुहारमा खुसी देख्दा राम्रै काम गरेको छु भन्ने अनुभव मनमा हुन्छ ।

विद्यालयको भवन / तस्बीर : पूवेर्ली प्रेस