विराटनगर, ९ जेठ । मोरङको ३ नंम्बर क्षेत्रका ४ पालिकामा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । एमाले स्थायी कमिटि सदस्य भानुभक्त ढकालको निर्वाचन क्षेत्र सुन्दरहरैचा नगरपालिका,बेलबारी नगरपालिका,पथरी शनिच्यरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको प्रमुखमा एमालेका उम्मेदवाहरु विजयी भएका हुन् ।
सुन्दर हरैचामा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका केदार प्रसाद गुरागाँईले २१ हजार ४ सय ५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका शिव प्रसाद ढकाललाई ७ सय २७ मतान्तरले पराजित गरेका हुन् ।
बेलबारी नगरपालिकामा एमालेका मेयरका उम्मेदवार दिल बहादुर राइले १६ हजार ४ सय २२ मत ल्याएर विजयी भए । उनले कांग्रेसका उम्मेदवार महेन्द्र प्रसाद सुवेदीलाई पराजित गरेका हुन् ।
यस्तै पथरी शनिच्यरेमा एमालेका तर्फबाट उम्मेदवार बनेका मोहन प्रसाद तुम्वापो विजयी भएका हुन् । कांग्रेसका नगेन्द्र बहादुर सुब्बाले ११ हजार १ सय ४६ मत ल्याएका थिए ।
यस्तै कानेपोखरी गाउँपालिकामा एमालेले महिलालाई अध्यक्षका उम्मेदवार बनाएका थिए । एमालेबाट अध्यक्षका उम्मेदवार बनेका राजमति इङनाम गाउँपालिका अध्यक्षमा निर्वाचित भइन् । मोरङको ३ नम्बर क्षेत्र भित्र पर्ने ४ पालिका संघीय सांसद भानुभक्त ढकालको निर्वाचन क्षेत्र हो ।