इटहरी । एमाले नेता हिमाल सुवेदीमाथि आक्रमण भएको छ ।
एमाले प्रदेश सदस्य हिमाल सुवेदीमाथि आईतबार बिहान इटहरीको संगीत चोकमा आक्रमण भएको सुवेदीले बताए । तीन जनाको समूहमा आएका युवाले कुटपिट गरी भागेको सुवेदीले बताए ।
नेकपा एकीकृत समाजवादीबाट इटहरी उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएका केशवकुमार विष्टका छोरा कैलाश विष्टको समूहले कुटपिट गरेको पीडित सुवेदीले पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।
‘बिहान ७ बजे म माथि आक्रमण भयो,’ उनले भने, ‘बाटोमा हिड्दै गर्दा आक्रमण भयो, आक्रमण हुनुभन्दा १५ मिनेट अघि फेसबुकमा ज्यान मार्ने धम्कीसहित म्यासेज छ ।’
सुवेदीमाथि आक्रमण भएपछि अहिले इटहरीको पूर्व–पश्चिम राजमार्गमा एमालेका कार्यकर्ताहरूले नाराबाजीसहित प्रर्दशन गरिरहेका छन् ।
प्रर्दशनका कारण अहिले पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन आवतजावत अवरुद्व भएको छ । अहिले बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । सुवेदी एमालेको निर्वाचन परिचालन समितिका सह इन्चार्ज समेत हुन् । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।