विराटनगर । स्थानीय निर्वाचन २०७९को मतगणना जारी छ । अहिलेसम्म मतगणना सकिएका प्रदेश नं १ का पालिकामा पाँच जना महिलाले प्रमुखमा विजय हासिल गरेका छन् । एकजना अहिले पनि अग्रस्थानमा छन् ।
धेरै राजनीतिक दलले उपप्रमुखलाई प्रमुखमा चुनाव लडन टिकट दिएनन् । टिकट पाएका मध्ये धेरैले चुनाव जितेर आफुलाई अब्बल सावित गरेका छन् । स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा विजयी हुने पाँच जना मध्ये तीनजना पाँच वर्ष उपप्रमुख चलाएर अहिले प्रमुखमा निर्वाचित भएका अनुहार हुन् ।
१. पवित्रादेवी महतारा प्रसाई
झापाको विर्तामोड नगरपालिकामा नेकपा एमालेका तर्फबाट उपमेयरको उम्मेद्वार पवित्रादेवी महतारा प्रसाईले काग्रेसका भोजराज सिटौलालाई ३ हजार ७५८ मत अन्तरले पराजित गर्दै विर्तामोडको मेयरमा निर्वाचित भएकी हुन् । उनले १६ हजार ५२० मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७६२ मत पाए । ५० वर्षिय महतारा उपमेयर भएर पाँच वर्ष गरेको कामको अनुभवले पूर्वको उदाउँदो शहर हाक्ने हिम्मतका साथ मैदानमा उत्रिएकी उनी प्रति मतदाताले विश्वास गरेर विजयी बनाए ।
२०७४ को स्थानीय निर्वाचनमा काँग्रेसकी उपमेयर उम्मेद्वार पार्वती गिरीलाई पराजित गर्दै महताराले उपमेयर विजयी भएकी थिइन् । त्यसवेला महताराले १० हजार ४३७ र गिरीले ९ हजार ११ मत पाएका थिए ।

२. राजमती इङनाम
नेकपा एमालेबाटै मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित राजमती इङनाम पनि पाँचवर्ष उपाध्यक्ष चलाएर आफुलाई अध्यक्षमा अपग्रेट गर्न सफल भएकी हुन् । उनलाई पार्टीले टिकटमा पत्यायो भने मतदाताले उनको कार्य मनपराएर पालिका प्रमुखमा चुने । नेपाली काग्रेसका संजय भट्टराईलाई ३ हजार १२९ को भारी मत अन्तरले पराजित गराएकी इङनामले ९ हजार ८७५ मत ल्याइन । भट्टराईले ५ हजार ८४६ मत पाए ।
स्थानीय निर्वाचन २०७४ मा इङनाम काग्रेसकी टंकेश्वरी याख्खालाई पराजित गर्दै उपाध्यक्षमा विजयी भएकी थिइन् । अघिल्लो निर्वाचनमा उनले ७ हजार २९ मत पाइकी थिइन भने याख्खाले ४ हजार ६२७ मत पाइकी थिइन् ।

३. विमला राई
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरमा निर्वाचित विमला राई पनि उपमेयरको कार्यकाल सकिन नपाउँदै मेयरमा उम्मेद्वारी दिएकी व्यक्ति हुन् । ४० वर्षिय राईले पाँचवर्षे कार्यकालमा आफुलाई प्रमुख हुनेमा प्रमाणित गर्न सफल भइन् । त्यसैको फल स्वरुप पार्टीले उनलाई पत्यायो र मतदाताले पनि विश्वास गरेका छन् ।
उनले ६ हजार ३१७ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खडेन्द्र राईले ५ हजार ९६६ मत पाए । २०७४को निर्वाचनमा एमालेकी मनिषा राईसंग उनको प्रतिष्पर्धा भएको थियो । विमलाले ४ हजार ४८६ मत ल्याउदा मनिषाले ३ हजार ९२२ मत पाइकी थिइन् ।