इटहरी । नेकपा एमालेबाट इटहरी उपमहानगरपालिकाको मेयर पदमा उमेदवारी दिनुभएका यामकुमार सुब्बाले यस उपमहानगरलाई ‘ई–टहरी’ बनाउने घोषणा गर्नुभएको छ ।
आफूले इटहरीमा मेयरको पद सम्हालेपछि इटहरीलाई ‘ई–टहरी’ बनाउने उहाँले बताउनुभएको छ । त्यसका लागि आवश्यक पूर्वाधार र जनशक्तीको व्यवस्थापनका विषयमा पनि आफूले ध्यान केन्द्रित गरिसकेको उहाँले जानकारी दिनुभएको छ । यसका साथै उपलब्ध मानव संसाधनलाई अभ्यस्त र शिपयुक्त बनाउन आवश्यक रहेको बताउँदै उहाँले आफू त्यसका लागि तत्पर रहेको जानकारी दिनुभयो । उपमहानगरलाई मात्रै नभएर यसका मातहतमा रहेका वडा कार्यालय र अन्य संस्थालाई ‘ई–टहरी’मा रुपान्तरण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
के हो ‘ई–टहरी’ ?
‘ई–टहरी’ भनेको के हो भनेर धेरैमा जिज्ञासा पैदा हुन सक्छ । मेयरका उमेदवार सुब्बाले भन्नुभएको ‘ई–टहरी’ भनेको ‘डिजिटल इटहरी’ हो । इटहरीलाई प्रविधिमैत्री बनाउने भनिएको हो । जहाँ हरेक काम ‘डिजिटल्ली’ हुने गर्दछ । उपमहानगरपालिकाले दिने हरेक सेवा सकेसम्म इन्टरनेटबाट नै प्रदान गर्ने उहाँको भनाइ छ । घरैमा वसि वसि नगरपालिकाको काम गर्न सकिने वनाइने मेयरपदका उम्मेदवार सुब्बाले बताउनुभयो ।