विराटनगर । विराटनगर महानगरपालिकाको मेयर पदका उमेदवार सागर थापाले आफु विजयी भए विराटनगरको विद्वता फर्काउने गरि काम गर्ने बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद, मोरङ जिल्ला कार्यसमितिले विराटनगरमा आयोजना गरेको ‘स्थानीय तहको निर्वाचनमा बुद्धिजीवीको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमालेबाट उमेदवार बनेका थापाले विराटनगरको बौद्धिकता पलायन हुने क्रममा रहेको बताए ।
यसअघि विराटनगरमा स्थानीय तहले बौद्धिकताको महत्व नबुझेको भन्दै उनले आफु बिजयी भए बौद्धिक व्यक्तिहरुलाई महानगरमै रहेर बौद्धिक क्रियाकलाप गर्न सक्ने माहोलको सिर्जना गर्ने बताए ।
काठमाडौंले जे गर्छ विराटनगरले त्यो एक दिन अगाडीनै सोच्ने गर्छ भन्ने छबि भएको विराटनगरको अहिले बौद्धिक हालत दयनीय रहेको भन्दै थापाले विराटनगरको गुमेको शाख फिर्ता गर्न सबै लाग्नुपर्ने बताए ।
परिषदका जिल्ला अध्यक्ष सोमराज थापाको अध्यक्षता भएको कार्यक्रममा विराटनगर महानगरपालिकामा विभिन्न क्षेत्रमा आवद्ध रहेर नेकपा एमालेमा आस्था राख्ने बुद्धिजीवीलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा महानगरपालिकाको प्रतिबद्दता पत्र लेखन समितिमा रहेका नेपाल बुद्धिजीवी परिषदका केन्द्रिय सचिव यज्ञ शर्माले नेकपा एमालेको विराटनगर महानगरपालिकाको प्रतिबद्दता पत्रको बिषयमा प्रकाश पारेको परिषदको जिल्ला सचिव डिल्ली पोखरेलले जानकारी दिए ।