विराटनगर । नेकपा एमाले विराटनगरले वैशाख २४ गते वृहत चुनावी भेला गर्ने भएको छ । भेलालाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने निर्वाचन परिचालन कमिटीका संयोजक विनोद ढकालले जानकारी दिए ।
स्थानीय जैन भवनमा आयोजित पार्टीको विराटनगर महानगरस्तरीय चुनावी भेलामा १९ वटै वडाका उमेदवार लगायत पाँचहजार बढी कार्यकर्ताहरुको सहभागिता रहने ढकालले जानकारी गराए ।
सोही दिन अध्यक्ष वलीले मोरङ र सुनसरीका अन्य पालिकाहरुका कार्यक्रमहरुलाई पनि सम्वोधन गर्ने कार्यक्रम रहेको छ । अपरान्ह विराटनगरका उद्योगी व्यवासायी, नागरिक अगुवा तथा वुद्धिजीवीहरुलाईबीच चुनावी परामर्श गरी वैशाख २५ गते विहान काठमाण्डौ फिर्ने कार्यक्रम रहेको संयोजक ढकालले बताए ।
विराटनगरका १९ वटै वडामा कोणसभाको तयारी
एमाले विराटनगरले चुनावी घरदैलो समापन पछि विराटनगरका १९ वटै वडामा कोणसभा गर्ने भएको छ । एउटा वडामा कम्तीमा तीनठाउँ गरी विराटनगरभर करिव ८० ठाउँ मा हुने कोणसभामा पार्टीका उपलव्ध केन्द्रीय नेताहरुले सम्वोधन गर्ने निर्वाचन परिचालनक कमिटीले बताएको छ ।
कमिटी संयोजक विनोद ढकालका अनुसार मौनावधि शुरु हुनु अगावै कोणसभा गरिने र त्यसको आवश्यक कार्यतातिका सहितको तयारी शुरु गरिएको छ । ढिलोमा २४ गतेसम्म विराटनगरको घरदैलो प्रचार अभियान समापन हुनेछन् ।
जनताको व्यापक सहभागिताका साथ चुनावी माहोल बनाउँदै गरिने तीन दिनसम्मका कोणसभाहरुमा चुनाव जितेपछि पार्टीले लागु गर्ने नीति तथा कार्यक्रमका बारेमा व्यापकरुपमा चर्चा गरिने संयोजक ढकालले जानकारी दिए ।
त्यसैगरी मौनावधि शुरु हुनु अगावै विराटनगरको पुष्पलालचोकदेखि रोडशेषसम्म जनप्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । माथिका सम्पूर्ण गतिविधिहरु निर्वाचन आचार संहिताको पूर्णपालनाका साथ गरिने संयोजक ढकालले जानकारी दिए ।