Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोलकत्तासँग मुम्बई स्तब्ध



काठमाडौं । मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे ।

कोलकत्ताको जितमा पाट कुमिन्सले बिस्फाेटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहेर ५६ रन बनाए । जुन आइपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतक बराबरी हो । यसअघि लोकेश राहुलले २०१८ मा १४ बलमै पन्जाब किंग्सबाट दिल्लीविरुद्ध प्रहार गरेका थिए । त्यस्तै, भेन्काटेस आयरले ५० रनको योगदान गरे ।

मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २-२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेेकाे थियाे ।मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए । युवा ब्याटर तिलक बर्मा ३८ रनमा अविजित रहे ।

कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए । उमेश यादव र बरुण चक्रवर्तीले १–१ विकेट लिए ।

जितसँगै  कोलकत्ताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार