निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशन गर्ने भएको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागिएको हो ।
आयोगले वडा, पालिका र निर्वाचन कार्यालयसँगको समन्वयमा नाम दोहोरिएको, मृत्यु भएका वा नागरिकता त्याग गरेका, झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन आह्वान गरेको थियो । उक्त दाबी विरोधपछि करिब १ लाख मतदाता सूचीबाट हटेको प्रवक्ता शर्माको भनाइ छ । प्रवक्ता पौडेलले करिब १ करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने जानकारी दिए ।
अन्तिम नामावली प्रकाशनसँगै मतपत्र छपाइ सुरु हुनेछ । करिब २ करोड मतपत्र छाप्ने तयारी गरेको आयोगले छपाइको काम जनक शिक्षा सामग्री लिमिटेडबाट गर्ने निर्णय गरिसकेको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ।