Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा नमुना मतदान



विराटनगर : आगामी मंसिर ४ मा हनुे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उदयपुरमा नमुना मतदान गरिएको छ । निर्वाचनमा मत बदर हुन नदिन बुधबार चौदण्डीगढी र बेलका नगरपालिकामा नमुना मतदान गरिएको हो ।

निर्वाचन आयोगको निर्देशन र कार्यतालिकामा विभिन्न स्थानीय तहमा छुट्टाछुट्टै नमुना मतदान कार्यक्रम गर्नुपर्ने निर्णय अनुसार पालिकाहरुमा नमुना मतदान कार्यक्रम गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिए ।

नमुना मतदानमा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, पालिकाका प्रमखु उपप्रमुख, वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

समानुपातिक तथा प्रत्यक्षतर्फको मतपत्रबारे जानकारी गराउने, मतदानको प्रक्रिया, मतदानस्थल र मतदान केन्द्र तथा मतदान अधिकृत र सहायक कर्मचारीको भूमिकाबारे अभ्यास गराइएको कोइरालाले बताए ।

नमुना मतदानमा चौदण्डीगढीमा ५७ र बेलाका नगरपालिकामा ५८ जनाले मतदान गरेका थिए । जसमा चौदण्डीगढी ६ र बेलकामा ८ मत बदर भएको प्रमुख कोइरालाले जानकारी दिए ।

दुई संघीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेको उदयपुरमा २ लाख २८ हजार ९ सय ४६ मतदाता छन् । जिल्लामा १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र भएको निर्वाचन कार्यालयले जनाएको छ । अन्य स्थानीय तहहरूमा पनि नमुना मतदान गराउने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार