विराटनगर : जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । तेह्रथुमको आठराई गाउँपालिका–४ घर भएका ५४ वर्षीय मानबहादुर खपांगीको मंगलबार साँझ मृत्यु भएको हो ।
मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार खपांगीलाई पेट र पायल्सको पुरानै समस्या थियो । बिरामी परेपछि उनलाई कात्तिक १२ गते बिहान उपचारका लागि विराटनगरको कोसी अस्पताल भर्ना गरिएको भगतले बताए ।
खपांगीको उपचारका क्रममा मंगलबार साँझ ६ः१० बजेतिर मृत्यु भएको हो ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका खपांगीलाई जिल्ला अदालत तेह्रथुमले २०७४ माघ ९ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । अदालतबाट दोषी ठहर भएपछि उनी तेह्रथुम कारागारमा सजाय भुक्तान गरिरहेका थिए । उनलाई २०७६ मंसिर २४ गते स्थानान्तरण गरी मोरङ कारागार ल्याइएको हो ।
उनको शव परिवारका सदस्यलाई जिम्मा लगाउने तयारी भइरहेको भगतले जानकारी दिए ।