Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारीमा छुरा प्रहार गरी हत्या गर्ने पाँच जना पक्राउ



विराटनगर : मोरङको उर्लाबारीमा छुरा प्रहार गरी बालकको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ उर्लाबारी ७ मावा खोलास्थित छठ हेर्न पुगेका झापाको दमक नगरपालिका १० का १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पूरानो रिसिबीका कारण उनको हत्या भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पक्राउ परेका पाँचै जना १८ वर्ष मुनिका रहेका छन् ।

आइतबार राति १०ः२५ बजेतिर दियुसलाई ५ जना मिलेर छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट उनको बायाँ कोखादेखि तलको भागमा लागेको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका दियुस श्रेष्ठको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा सोमबार बिहान मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।

घटनापश्चात फरार रहेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको संयुक्त टोलीले उर्लाबारीबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट हत्यामा प्रयोग भएको छुरासमेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार