विराटनगर : नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सुरु भएसँगै उदयपुरको कटारी नगरपालिका १० मा विद्युत सेवा सुरू भएको छ । वडाका विभिन्न क्षेत्रमा कार्तिक ७ गतेबाट राष्ट्रिय प्रसारण लाइनमार्फत् विद्युत पुगेको हो ।
पहिलो चरणमा वडा कार्यालय आसपासका बस्तीमा लाइन पुर्याइएको कटारी १० का वडा अध्यक्ष क्षेत्रबहादुर खड्काले जानकारी दिए । खड्काका अनुसार पहिलो चारणमा २२ घरमा विजुली बालिएको छ ।
यस्तै चुकिया र बरडाँडाका करिब ५० घरपरिवारलाई लक्षित हुने गरी विजुली पुर्याएको र तिहारपछि काम सम्पन्न गर्ने उनले बताए । ‘प्रारम्भिक चरण वडा कार्यलय र आसपासका २२ घरमा बत्ती बाल्न सफल भएका छौँ,’ खड्काले भने, ‘तिहारपछि बत्ती बाल्न सकिने गरी चुकिया र बरडाँडामा पनि काम भएको छ, त्यहाँका नागरिकलाई विजुली मिटरका लागि प्रक्रिया अघि बढाउन बताएका छौँ ।’
थुम्की, बेल्टार, सोरुङ छविसे, छागेटार लगायतका बस्तीमा पनि चाडैँ विजुली पुर्याउने लक्ष्य राखे पनि सामाग्री अभावका कारणले केही ढिला भएको खड्काले बताए । विद्युत सेवाको कामलाई निरन्तरता दिने उनले बताए ।
गाउँमा विद्युत पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । ‘सडक पनि आइसकेको छ, अब घरमै बिजुली पनि आइसकेको छ,’ छविसेका नेत्र बिष्टले भने, ‘अब अन्धकारमा बस्नुपर्ने दिनको अन्त्य भएको छ ।’ उनले बाँकी रहेका क्षेत्रमा पनि चाडैँ विजुली उपलब्ध गराउन सरोकारवालालाई अनुरोध गरे । ‘हामीमात्र उज्यालोमा बसेर हुँदैन्, पूरै वडाबासी विद्युतको पहुँचमा पुग्नुपर्छ,’ उनले भने ।
बाँकी रहेको ठाउँमा पनि आधारभूत संरचनाहरू बनिसकेकोले यो वर्षभित्रै सेवा पुग्ने वडा अध्यक्ष खड्काले बताए ।