Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

योगेन्द्र मण्डल एमालेबाट निष्काशित, खतिवडालाई १५ दिने अल्टिमेटम



योगेन्द्र मण्डल (बायाँ) र रुपेश खतिवडा (दायाँ)

विराटनगर : आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको हित विपरित काम गर्नेहरुलाई नेकपा एमाले मोरङले कारबाही गरेको छ ।

एमाले मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षता र स्थायी कमिटी सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले कारबाहीको निर्णय गरेको हो । गत असोज ३१ गतेकै बैठकले कारबाहीको निर्णय गरेपनि आइतबारमात्र सार्वजनिक गरिएको छ ।

मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यामा स्वतन्त्र उम्मेदवार दिएका योगेन्द्र मण्डल ‘जोगी’ लाई पार्टीबाट निष्काशित गरिएको छ । सोही क्षेत्रको प्रदेश ‘१’ बाट उम्मेदवार दिएकी पूर्व प्रदेश संसद बसन्तीदेवी यादवलाई पनि पार्टीबाट निष्काशन गरेको छ । मण्डल र यादव दुवैले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । मण्डल एमालेको प्रदेश कमिटी सदस्य थिए ।

लामो समयदेखि एमालेबाट उम्मेदवारको आश्वासन पाएका मण्डल एमालेले सो क्षेत्रमा जसपासँग गठबन्धन गर्दा उम्मेदवार बन्नबाट बञ्चित भएका थिए । मोरङ ५ का प्रतिनिधि र प्रदेशका सबै क्षेत्र जसपाको भागमा परेको छ ।

नेकपा एमाले मोरङका अध्यक्ष पोखरेलका अनुसार उनीहरुलाई पार्टी विधानको दफा ८० बमोजिम निष्काशन गरिएको हो ।
बैठकले जिल्ला सचिव रुपेश खतिवडालाई भने कारबाही नगर्नुपर्ने कारणसहितको जवाफ दिन १५ दिने अल्टिमेटम दिएको पोखरेलले बताए । खतिवडाले दिएको राजिनामा स्वीकृत गर्दै पार्टी विधानको दफा ८० को उपदफा १,२,३,४ वमोजिर्म अनुशासनको कारबाही गर्नु नपर्ने कारणसहित जवाफ दिन समय दिएको छ ।

१५ दिनभित्र चित्तबुझ्दो जवाफ नदिएमा पार्टी विधानअनुसार स्वतः निष्काशन गर्ने बताइएको छ । टिकट वितरणमा असन्तुष्ट हुँदै खतिवडाले गत असोज २२ गते पदबाट राजिनामा दिएका थिए । असोज ३१ गते एमाले मोरङको विस्तारित पदाधिकारी बैठकले खतिवडाको राजिनामा स्वीकृत गरेको थियो । राजिनामा स्वीकृत भएसँगै उनले साधारण सदस्यसमते त्यागेको घोषणा गरेका थिए ।

यस्तै टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टीबाट राजिनामा दिएका एमालेका प्रदेश कमिटीका सदस्यहरु रामकुमार बस्नेत र राजकुमार बस्नेतलाई आवश्यक कारबाहीका लागि माथिल्लो कमिटीलाई सिफारिस गरिएको छ । पार्टीविरुद्ध गतिविधि गर्दैे राजिनामा दिएकाले आवश्यक कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको एमाले मोरङ जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार