विराटनगर : नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालाले शेरबहादुर देउवा र आफूबीच कुनै विवाद नभएको बताएका छन् । अधिवेशनको समयमा केही फरक मत राखे पनि अहिले देउवासँग कुनै विवाद नभएको कोइरालाले दावी गरेका छन् ।
चुनावी अभियान अन्तरगत मोरङको सुन्दरहरैँचा ५ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले आफूहरुबीचको विवाद अन्त्य भएकाले कार्यकर्ताहरुलाई विवाद नगर्न आग्रह गरेका छन् । ‘हिजो स्थानीय तहको निर्वाचन र महाधिवेशनमा के भयो ? अधिवेशन कांग्रेसभित्रको अधिवेशन हो,’ कोइरालाले भने, ‘त्यो तुषलाई तपाईहरु सबैले त्याग्नुस्, मैले त त्यागिसके भने तपाईहरुले किन नत्यागेको ?’
उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवासँग आफ्नो निरन्तर संवाद भइरहेकाले वडातहमा झगडा नगर्न आग्रह गरे । अधिवेशन र स्थानीय तहका बेलाको आन्तरिक लडाइ समाप्त भइसकेको कोइरालाले बताए ।
‘शेरबहादुरजी र म सँगै लडेको होइन्, जब शेरबहादुरजी र म नै मिलिसकेपछि वडामा तपाईहरु किन झगडा गरिरहनु भएको छ, मैले कुरा बुझ्न सकिरहेको छैन्,’ कोइरालाले भने, ‘लडाई प्रतिस्पर्धा उहाँ र मेरो हो, अब त्यो लडाई समाप्त भइसक्यो, उहाँ र म एकै ठाउँमा उभिएका छौँ ।’ देउवासँग पछिल्लो समय आफ्नो निरन्तर भेट भइरहेको र आफ्नो कुरा देउवाले मानिरहेको कोइरालाले बताए ।
सबै समस्या हल भइसकेकाले उनले कार्यकर्ताहरुलाई तल्लो तहमा कुनै विवाद नराख्न सुझाएका छन् । ‘हामीबीचका सबै कुरा मिलिसकेको छ भने तपाईहरु तल किन केका लागि लडिरहनु भएको छ, मैले बुझेको छैन्,’ कोइरालाले भने ।