Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेताभन्दा जनतामाथि हुनुपर्छ भन्ने मेरो मान्यता हो : रीता न्यौपान्ने



विराटनगर : मोरङ क्षेत्र नं. ६ (क) की प्रदेशसभा सदस्यकी उम्मेद्वार रीता न्यौपान्नेले नेताभन्दा माथि जनता हुनुपर्ने बताएकी छन् ।

आईतबार निर्वाचन क्षेत्र सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँका महिला मतदाताहरुसँग कुराकानी गर्दै न्यौपानेले जनताको प्रतिनिधि भएपछि जनताकै सेवा गर्ने आफ्नो उदेश्य रहेको बताइन ।

निर्वाचन क्षेत्रका समस्या बुझ्दै उनले आफू पूर्णरुपमा जनताको सेवक भएरै काम गर्ने बताइन । आफूले पाँच वर्ष मात्र राजनीतिक गर्नु नभएर लामो समयसम्म राजनीतिमा जोडिने भएका कारण निर्वाचित भएपछि जनताको माझमा नै रहिरहने प्रतिवद्धता जनाइन ।

स्थानीय भएको र स्थानीय जनताको समस्या थाहा भएकाले पनि काम गर्न सहज हुने उनको भनाई छ । ‘स्थानीय जनताको समस्याका बारेमा परिचित छु’, उनले भनिन्, ‘म पदको लागि मात्र आएको हैन । लामो समयदेखि जनताको काम गरेको र आगामी दिनमा पनि जनताकै काम गर्नेछु ।’ ‘जनताको काम गर्नको लागि उम्मेद्वार बनेर आएको छ की, पदको लागि मात्र उम्मेद्वार बन्न आएको छ भन्ने कुरा जनताले छुट्याउन सक्नुपर्छ’, उनले भनिन् ।

निर्वाचित भइसकेपछि जनता बिर्सने नेताको बानी सुधार्नुपर्छ : मतदाता

मोरङ क्षेत्र नं. ६ सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँका महिला मतदाताले निर्वाचनको समयमा मात्रै आउने र निर्वाचित भएपछि जनता विर्सने नेताका कारण जनतामा निरासा छाएको बताएका छन् ।

मोरङ क्षेत्र नं. ६ (क) की प्रदेश सभा सदस्यकी उम्मेदवार रीता न्यौपान्नेसँग कुरा गर्दै उनीहरुले निर्वाचनका बेला यो गर्छु र त्यो गर्छु भन्ने तर, जितेर गइसकेपछि एक दुई जना कार्यकर्ताको घरमा मात्र सिमित हुने प्रवृति रहेको देख्दा दुःख लाग्ने गरेको बताए । जनताको जनप्रतिनिधि भन्ने अनि जनतालाई मतलब नै नगर्ने नेताहरुको कारण काम गर्ने नेताहरुलाई पनि असर गर्ने गरेको उनीहरुको भनाई छ ।

पुरुषलाई मात्र उम्मेदवार बनाउने राजनीतिक दलहरुका कारण महिला उम्मेदवार कम हुने गरेकाले महिलालाई जिताउन आफूहरु लागि पर्ने उनीहरुले बताए । उनीहरुले मोरङमा एक मात्र महिला उम्मेदवार भएका कारण जिताउन लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे । जिताएपछि एक दुई जना कार्यकर्ताको लागि मात्र नभई सबै जनताको विकासप्रेमि नेता बन्नुपर्नेमा महिलाहरुले जोड दिएका छन् ।

सुन्दरहरैचा ७ गोठगाउँकी दुर्गादेवी भट्टराईले निर्णायक तहमा पुर्याउनका लागि महिला उम्मेदवारलाई जिताउनुपर्ने बताईन । जुनसुकै पार्टीबाट उम्मेदवार भएपनि महिलाले महिला उम्मेदवारलाई जिताउन लागिपर्नुपर्नेमा उनले जोड दिईन ।

‘महिलाहरुलाई संविधानमा ग्यारेन्टी गरिएको ३३ प्रतिशत सहभागिता पनि दलहरुले गराउन सकेका छैनन्’, उनले भनिन्, ‘निर्णायक तहमा त झन एकदमै कम महिलामात्र पुग्न सकेका छन् । निर्णायक तहमा जति धेरै महिलाहरुलाई पुर्याउन सक्यो त्यति महिलाको क्षेत्रमा काम हुने हो, त्यसैले महिला उम्मेदवारलाई जिताउन हामी लाग्नुपर्छ ।’

मोरङभरिबाट एक जना मात्र महिला उम्मेदवार भएका कारण हामी महिलाले अभियान नै सञ्चालन गरेर रीता न्यौपान्नेलाई जिताउन लागि पर्नुपर्ने उनले बताईन ।

प्रतिक्रिया
सम्बन्धित समाचार