Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरका मेयर र युरोपियन युनियनको टोलीबीच भेटवार्ता



विराटनगर : विराटनगर महानगरपालिका मेयर नागेश कोइराला र युरोपियन युनियन (ईयू)को टोलीबीच भेटवार्ता भएको छ । डा.जोइले हिभोनेटको नेतृत्वमा आएको टोलीले मेयर कोइरालासित भेटवार्ता गरेको हो ।

ईयूको टोलीले महानगरमा बालश्रम, मानवअधिकार र भौतिक विकासको अवस्था विषयमा चासो राखेको थियो । सो भेटमा महानगरका मेयर कोइरालाले विराटनगर महानगरपालिकाले बालश्रम न्यूनीकरणका लागि गरिरहेको प्रयास, भएको उपलब्धिसहित स्वास्थ्य र शिक्षाको क्षेत्रमा भइरहेका कामका विषयमा जानकारी गराएका थिए ।

कोइरालाले महानगरले शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले महानगरले स्थापना गर्ने सिटी अस्पतालको निर्माणका लागि सहयोग गर्न ईयूको टोलीसित आग्रह गरेका थिए । त्यस्तै विराटनगरमा डुबान समस्या रहेको बताउँदै पूर्वमा रहेको सिंघिया र पश्चिमको केशलिया खोलामा तटबन्ध निर्माणका लागि समेत महानगरले योजना बनाएको उल्लेख गरे ।

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर ३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, इन्सेकका पूर्वाञ्चल प्रमुख सोमराज थापालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार