विराटनगर : मोरङ क्षेत्र नम्बर ३ मा पूरानै प्रतिस्पर्धि चुनावी मैदानमा छन् । पूरानै प्रतिस्पर्धिको चुनावी भिडन्त रोचक बन्दै गएको बेला रेखा थापाको इन्ट्रीले चुनावलाई अझ रोचक बनाएको छ ।
क्षेत्र नम्बर ३ बाट मेडिकल व्यवसायीसमेत रहेका कांग्रेस नेता सुनिल शर्मा र एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको दोस्रो भेटमा हुँदै छ । ढकाल र शर्मासँग प्रतिस्पर्धा गर्न थापा यो निर्वाचनमा थपिएकी छन् । यो क्षेत्रबाट १९ स्वतन्त्रउम्मेदवार सहित ३३ जना चुनावी प्रतिस्पर्धामा भए पनि ढकाल, शर्मा र थापालाई मुख्य प्रतिस्पर्धिका रुपमा हेरिएको छ ।
स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा एमालेका ढकालले सजिलै चुनाव जित्ने देखिएको छ । यो निर्वाचन क्षेत्रमा पर्ने सबै पालिकाको प्रमुखमा एमालेले जितेको छ ।
२०७४ को निर्वाचनमा यो क्षेत्रका लागि ढकाल र शर्मा दुवै नयाँ अनुहार थियो । अघिल्लो निर्वाचनमा ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका थिए । सरकारले मंसिर ४ मा चुनवाको मिति गरेपछि ढकाल आफ्नो क्षेत्र फर्किएर निरन्तर पार्टीका कार्यकता तथा मतदात भेटघाटमा छन् ।
अघिल्लो निर्वाचनको हारको बदला निल जोडबलका साथ लागेका शर्मालाई यसपटक नेकपा माओवादी, एकीकृत समाजवादी लगायतका पार्टीको साथ छ । यता, नायिकासमेत रहेकी रेखा थापा पनि चुनाव जित्न कम्मर कसेर लागेकी छिन् ।
स्थानीय चुनावमा मोरङ ३ मा एमालेले ३७ हजार ४१०, कांग्रेसले ३६ हजार ९१६, माओवादी केन्द्रले ७३ हजार ७३, राप्रपाले २ हजार १२१, नेकपा एसले १ हजार ८५५ र जसपाले ४ सय ६३ मत पाएका थिए । यो निर्वाचन क्षेत्रमा राप्रपाको मत कम भए पनि रेखालाई व्यक्तिगत भोट आउने राप्रपाको आस छ ।
मोरङ ३ मा एमालेको संगठन बलियो छ । स्थानीय चुनावमा क्षेत्र नम्बर ३ मा पर्ने चारवटा पालिकाको प्रमुख एमालेले जितेको थियो ।
यो क्षेत्रमा पथरीशनिश्चरे नगरपालिकाको (१, २, ३, ४, ७, ८, ९, १०), बेलबारीको (१, २, ३, ४, ८, ९, १०, ११), सुन्दरहरेँचाको (१, ८, ९, १०, ११, १२) र कानेपोखरी गाउँपालिकाको (४, ५, ६ र ७) वडा पर्छ ।