Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला सेवा सुरु



विराटनगर : विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ । प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका बीच उद्घाटन गरेपछि सेवा सुरु भएको हो ।

विराटनगर–१९ स्थित स्वास्थ्यचौकीबाट आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको मेयर कोइरालाले बताए । ‘मैले चुनावी घोषणापत्रमै स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको थिएँ,’ मेयर कोइरालाले भने, ‘सीमित स्रोत, साधन र जनशक्ति परिचालन गरेर स्वास्थ्य सेवालाई व्यापक बनाउँदै लानेछौं, त्यो काम प्रयोगशाला सञ्चालनमा आएसँग सुरु भएको छ ।’

मेयर कोइरालाले स्वाथ्यचौकीलाई अस्पतालका रुपमा चाँडै स्तरोन्नति गर्ने बताए । सामान्य रोगका बिरामीको उपचार स्वास्थ्यचौकीबाट गर्ने व्यवस्था मिलाउने उनले बताए ।

स्वास्थ्य चौकीबाट रेफर गरिएका बिरामीको सहुलियत दरमा उपचार गर्ने गरी विराटनगरका विभिन्न अस्पतालहरूसित सम्झौताका लागि कुरा गर्नेसमेत कोइरालाले बताए । सुगर, हेमोग्लोबिन, ब्लड ग्रुपिङलगायतका सेवा निःशुल्क उपलब्ध हुने भएको छ ।

कार्यक्रममा विराटनगर वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरेले स्वास्थ्य चौकीलाई भौतिक रुपमा सुविधा सम्पन्न बनाउने बताए । उनले कोशी अस्पतालमा प्राप्त हुने सुविधा उपलब्ध गराउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

त्यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले प्रयोगशालाबाट गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तह नजिकको सिंहदरबार भएकाले जनताका अपेक्षाअनुसार यसरी स्वास्थ्यचौकीहरूबाट सेवा उपलब्ध हुनु खुसीको कुरा भएको बताए ।

सो अवसरमा स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, पूर्ववडाध्यक्ष बद्रीनाराययण सरदार, समाजसेवी बलबहादुर खवास, नेकपा माओवादी केन्द्रका स्थानीय शिवनारायण थनदारलगायतले यसअघि सञ्चालनमा ल्याइएको बर्थिङ सेन्टरलाई सुचारु गर्न एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले स्वास्थ्य चौकीबाट बुधबारदेखि नै हेमोग्लोबिन, ब्लड गु्रपिङ र सुगरको निःशुल्क जाँच सुरु भएको उल्लेख गरे । स्थानीयको माग र आवश्यकताअनुसार अन्य सेवा पनि थप्दै जाने अलिले बताए । पहिलो दिन आज ६७ जनाको परीक्षण गर्दा ७ जनाको सुगर बढेको र ४ जनाको रगतको मात्रा कमी देखिएको महाशाखा प्रमुख अलिले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार