Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेले टिकट नदिएपछि योगेन्द्रले दिए स्वतन्त्र उम्मेदवारी, प्रदेशमा पूर्व संसदको बागी



स्वतन्त्र उम्मेदवार दिएका योगेन्द र बसन्तीदेवी

विराटनगर : मोरङ क्षेत्र नम्बर ५ एमालेले जसपालाई दिएपछि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएका योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवार दिएका छन् । एमालेले टिकट नदिने भएपछि उनले पार्टी छाडेका हुन् ।

एमालेले उम्मेदवार बनाउने आश्वासन दिएपछि मण्डल चुनावी अभियानमा होमिएका थिए । एमालेले जसपासँग गठबन्धन गरेपछि यो क्षेत्रमा जसपा मोरङका अध्यक्ष राजकुमार यादवले टिकट पाएका छन् ।

मण्डलले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार दर्ता गराएको जानकारी दिए । जीवन विकासका अध्यक्षसमेत रहेका मण्डल एमालेबाट उम्मेदवार बन्न लगातार पार्टी प्रवेश अभियानमा लागेका थिए ।

सत्ता गठबन्धनबाट यो क्षेत्रमा माओवादीका शिवकुमार मण्डलले टिकट पाएका छन् ।

पूर्व एमाले संसदको बागी उम्मेदवारी
नेकपा एमालेकी निवर्तमान प्रदेशसभा सदस्य बसन्तीदेवी यादवले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । समानुपातिक संसद रहेकी उनले मोरङ ५ (ख) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।

पार्टीले उनको नाम प्रदेशसभाका लागि पहिलो नम्बरमा सिफारिस गरेको थियो । यो क्षेत्रमा एमालेले जसपासँग गठबन्धन गरेपछि जसपाका जयराम यादवले टिकट पाएका छन् । जयराम यादव अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार