Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ का यी क्षेत्रमा माओवादीले उम्मेदवार टुंगो लगायो



विराटनगर : प्रदेश १ मा नेकपा माओवादी केन्द्रले ८ संघीय र १७ प्रदेश निर्वाचन क्षेत्र पाएको छ । प्रदेशमा २८ संघीय र ५६ प्रदेश निर्वाचन क्षेत्र छन् । गठबन्धनबाट आफ्नो भागमा परेका अधिकांश निर्वाचन क्षेत्रमा माओवादीले उम्मेदवार टुंगो लगाएको छ ।

प्रतिनिधिसभाका ८ मध्ये ६ र प्रदेशसभाका १७ मध्ये १३ जना उम्मेदवारको टुंगो लगाएको छ । प्रतिनिधिसभामा माओवादीले मोरङ ४ मा अमनलाल मोदी र ५ मा शिवकुमार मण्डललाई टिकट दिएको छ । उनीहरु २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, सुनसरी १ मा मुक्साहाङ मेन्याङ्बो, भोजपुरमा निवर्तमान सांसद सुदन किरातीलाई उम्मेदवार बनाएको छ ।

खोटाङ, सोलुखुम्बु र झापा २ मा भने टुङ्गो लाग्न बाँकी छ ।

यस्तै पाँचथरको प्रदेशसभा २ बाट इन्द्रबहादुर आङ्बो, झापा ३ (ख) बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशी, झापा ४ (क) बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ (ख) बाट गगन पुरीले टिकट पाएका छन् ।

मोरङ १ (क) बाट कुलप्रसाद साम्बा, मोरङ २ (क) बाट गणेश उप्रेती, मोरङ ६ (क) बाट जीवन आचार्य, सुनसरी २ (क) बाट इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले टिकट पाएका छन् । चौधरी यही हप्तामात्र एमाले त्यागेर माओवादी प्रवेश गरेका थिए ।

सुनसरी ३ (क) बाट प्रदेशकी उपसभामुख सरस्वती पोखरेल, धनकुटा (ख) बाट कुशुमकुमारी श्रेष्ठ र तेह्रथुम (ख) बाट दुर्गा चापागाईले टिकट पाएको माओवादी स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार