Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरीका ४ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना



इनरुवामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय

विराटनगर : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुनसरीका चार स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

बिहिबार सुनसरीको सदरमुकाम इनरुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित चार स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन आयोगले असोज १५ गतेदेखि २० गतेसम्म प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने जनाएको थियो ।

सुनसरी क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय धरान उपमहानगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतमा रुपमा सर्वोच्च अदालत काठमाडौंका इजालास अधिकृत रुद्रप्रसाद अर्याल रहेका छन् ।

क्षेत्र नम्बर २ र ४ को निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदमुकाम इनरुवामा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पनि सोही कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकील कार्यालय सुनसरीका जिल्ला न्यायाधिवक्ता एकराज अधिकारी रहेका छन् । क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतमा सुनसरी जिल्ला अदालतको जिल्ला न्यायाधीश अर्जुन अधिकारी छन् । उनलाई मुख्य निर्वाचन अधिकृतको पनि जिम्मेवारी दिइएको छ ।

दुहवी नगरपालिकाको कार्यालयमा क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सो कार्यालयको निर्वाचन अधिकृत राजस्व अनुसन्धान विभाग ललितपुरका उपन्यायधिवक्ता विदुरकुमार कार्की हरेका छन् ।

बिहिबार जिल्लामा स्थापना भएका कार्यालयमा मनोनयन दर्तादेखि सम्पूर्ण निर्वाचनको कार्यसम्पादन गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार