Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट दुई कैदी फरार भएपछि छानविन समिति गठन



कैदीहरु उपचाररत क्षयरोग निवारण संस्था विराटनगर

विराटनगर : मोरङको विराटनगरबाट दुई कैदी फरार भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालयले छानविन समिति गठन गरेको छ । उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा रहेका दुई जना कैन्दीबन्दी शनिबार फरार भएपछि प्रहरीले छानविन समिति बनाएको हो ।

क्षयरोग लागेपछि अस्पताल भर्ना भएका राजकुमार हेमरन र मञ्जील गुरुङ अस्पतालबाटै भागेका हुन् । विरामी परेपछि उनीहरुलाई झापाबाट विराटनगर ल्याइएको थियो ।

झापा गाउँपालिका–५ घर भएका २८ वर्षीय हेमरम जबरजस्ती करणी मुद्धाका कैदी हुन् । उनलाई २०७५ सालबाट १६ वर्ष कैद सजाय भएको थियो । झापा गाउँपालिका–३ का २८ वर्षीय गुरुङ लागुऔषध मुद्धामा कारागार चलान भएका थिए । जिल्ला अदालत झापाले उनलाई २०७८ कार्तिक ५ गतेबाट पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

अस्पतालबाटै कैद भुक्तान गरिरहेका कैदी फरार भएपछि प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक जय राज सापकोटाको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरी प्रदेश कार्यालय धरानको प्रहरी टोली पनि समावेश गरिएको छ ।

घटनाको सम्बन्धमा वास्तविकता पत्ता लगाइ १० दिनभित्र राय सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको प्रदेश प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।


उपचारमा रहेका दुई कैदी विराटनगरबाट फरार


 

प्रतिक्रिया
सम्बन्धित समाचार