विराटनगर : उदयपुरमा प्रहरी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । सर्वसाधारणलाई सिभिल प्रहरी भएको भन्दै धम्की दिएर ठगी गर्ने दुई युवालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतामाई गाउँपालिका–७ मुर्कुर्चीका २३ वर्षीइ दिलिप भनिने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटका ३३ वर्षीय सन्तोष राई रहेका छन् ।
चौदण्डीगढी नगरपालिका–८ घर भई त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा बस्दै आएका राजबल राईलाई नियन्त्रणमा लिएर उनीहरुले ठगी गरेका थिए । स ३ प ९१५५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुले राईको साथबाट २० हजार नगद र मुक्तिनाथ बिकास बैंकको चेकमा हस्ताक्षरसहित ५० हजार काट्न लगाएर रेडमी ८ मोडलको स्मार्ट मोबाईलसमेत लगेका थिए ।
आफू ठगीमा परेपछि राईले जिल्ला प्रहरी कार्यालय उदयपुरमा खबर गरे । खबर गरेलगत्तै प्रहरीले खोजतलासको क्रममा उनीहरुलाई रौतामाई गाउँपालिका–७ मुर्कुर्ची बजारबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुको साथबाट ठगी गरेको मुक्तिनाथ विकास बैंकको चेक, मोबाइल र ठगीमा प्रयोग भएको स ३ प ९१५५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।
पक्राउ परेकाहरुको जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।