Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

देउवाविरूद्ध कोइराला समूहले दियो पार्टी कार्यालयमा धर्ना



काठमाडौँ : निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सच्याउन सभापति शेरबहादुर देउवालाई दबाब दिने उद्धेश्यले नेपाली कांग्रेसको असन्तुष्ट खेमाका नेताहरू पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन्।

‘सम्मानजनक हैसियत’ माग्दै संस्थापनविरूद्ध संघर्ष गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार एक घण्टे धर्ना भर्खरै शुरू भएको हो।

धर्नामा खोटाङका सभापति नरेश श्रेष्ठ, केन्द्रीय सदस्य गुरूराज घिमिरे, नुवाकोटका पूर्वसभापति जगदीश नरसिंह केसी, मध्य नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे, काठमाडौँ जिल्ला महाधिवेशन प्रतिनिधि विजय वस्नेतलगायत झन्डै डेढ सयको संख्यामा कांग्रेसी कार्यकर्ता सहभागी छन्।

आसन्न मंसिरको निर्वाचनमा सभापति देउवाले टिकटमा एकलौटी गर्न लागेको भन्दै कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइराला समूहको सोमबार सम्पन्न भेलाले १४ गतेसम्मको अल्टिमेटम दिएर विरोधमा उत्रिने निर्णय गरेको थियो।

१४ गतेसम्म समानुपातिक सूची नसच्याए र प्रत्यक्षमा ४० प्रतिशत हिस्सा नपाए चुनाव बहिष्कार गर्नेदेखि एमालेसम्म तालमेल गर्नेसम्मको तयारीमा शेखर समूह लागेको छ।

धर्नामा कोइराला समूहका दोस्रो तहका नेताहरू सहभागी छन्।

धर्नामा संस्थापनविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका गुरुराज घिमिरेदेखि मनोजमणि आचार्यसमेत सहभागी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार