विराटनगर : विराटनगरस्थित कोसी अस्पतालमा एक महिलाको पाठेघर फुटेपछि गर्भमै शिशुको मृत्यु भएको छ । प्रसूतिका लागि अस्पताल भर्ना भएकी सिर्जना परियारको शिशुको मृत्यु भएको हो ।
कटहरी गाउँपालिका–४ की २४ वर्षीया परियारको प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले शल्यक्रिया गरेकी थिइन् । सुत्केरी व्यथाले च्यापेपछि परियारलाई सोमबार बिहान अस्पतालमा भर्ना गरिएको थियो ।
प्रसूति गराउने क्रममा राति करिब १० बजे पाठेघर फुटेपछि पेटभित्रै शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ । शिशुको मृत्यु भएसँगै आमाको अवस्था पनि गम्भीर रहेको परिवारले बताएको छ ।
अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवका अनुसार गर्भवती महिलाको शल्यक्रिया गर्दा पेटभित्रै शिशुको मृत्यु भएको पाइएको हो । पेटभित्रै शिशुको मृत्यु भएसँगै आमाको अवस्था पनि गम्भीर हुँदै गएको उनले बताए ।
‘साँझबाट आमाको स्वास्थ्यमा समस्या हुँदै गएपछि तत्काल शल्यक्रिया गरियो,’ यादवले भने, ‘शल्यक्रिया गर्दा पेटभित्र बच्चाको मृत्यु भइसकेको रहेछ ।’
पाठेघर फुटपछि अत्यधिक रक्तश्राव भएकाले शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ ।