विराटनगर : धनकुटामा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले पार्टीबाट सामूहिक राजिनामा दिएका छन् । गठबन्धनको सिट बाँडफाँडमा असहमति जनाउँदै उनीहरुले सामूहिक राजिनामा दिएका हुन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा धनकुटा इन्चार्ज हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगाना, प्रदेश समितिका १४ जना सदस्य र जिल्ला संयोजकसहित जिल्लाका सबै सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।
जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको जनाएका छन् ।
राजिनामासँगै पोलिटब्यूरो सदस्य भण्डारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । भण्डारी २०६४ को निर्वाचनमा संविधान सभा सदस्य भएका थिए ।
हरेक पटकको निर्वाचनमा नेकपा माओवादीको अस्तित्व सकिदै गइरहेको र त्यहाँ बस्नुको औचित्य नभएकाले स्वतन्त्र नागरिक भएर बस्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आकांक्षी रहेका भण्डारीले गठबन्धनबाट टिकट पाउने सम्भावना नभएपछि राजिनामा दिएका हुन् ।
धनकुटा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसको भागमा छ । कांग्रेसले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल थापालाई उम्मेदवार बनाउने तयारीमा छ । थापा केही समयअघिमात्रै राप्रपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए ।