विराटनगर : विराटनगरमा दुई तलामाथिबाट खस्दा एक मजदुरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ मा निर्माणाधीन घरको दुई तलामाथिबाट खस्दा मोरङको जहदा गाउँपालिका–४ का ४० वर्षीय अशोक पञ्जियारको मृत्यु भएको हो ।
उनी मुकेश पोठारीको घर निर्माणमा मजदुरका रुपमा काम गर्दै आएका थिए । काम गर्ने क्रममा सोमबार घरमाथिबाट खरेर पञ्जियार घाइते भएका थिए । घाइते भएका पञ्जियारलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको र उपचारका क्रममा बुधबार बिहान ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शव कोसी अस्पतालमा पोस्टमार्टम गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।