विराटनगर : आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि एमालेको प्रभावशाली नेताको क्षेत्रमा सत्ता गठबन्धन पर्ख र हेरको स्थितिमा छ । सत्ता गठबन्धनका दलले केही निर्वाचन क्षेत्रमा सम्भावित सिट बाँडफाँट टुंग्याएको छ ।
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको गृह जिल्ला ताप्लेजुङमा कांग्रेस र माओवादीले एमालेको उम्मेदवार टुंगो लगाएपछि मात्र उम्मेदवा टुंग्याउने दाउमा छ ।
२०७४ को निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई फराकिलो मतले पराजित गर्दै विजय भएका योगेश भट्टराई यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन् । उनलाई जिल्लाबाट उम्मेदवारमा सिफारिस गरिएको छ ।
उम्मेदवार टुंगो लगाउने विषयमा एमालेको बेन्द्रमा सचिवालय बैठक बस्दै छ । बैठकपछि मात्र एमालेले उम्मेदवार टुंगो लगाउने एमालेका एक नेताले बताए ।
एमालेले उम्मेदवारको टुंगो नलगाउँदा ताप्लेजुङमा गठवन्धन अलमलमा परेका छ । एमालेले उम्मेदवार टुंगो नलगाउँदा गठबन्धनका दल पनि कसले भाग लिने भन्ने दोधारमा छन् । एमालेको उम्मेदवार हेरेर मात्र आफूहरुले निर्णय गर्ने कांग्रेस स्रोतले बताएको छ ।
ताप्लेजुङ एमालेको राम्रो पकड भएको जिल्ला हो । गत स्थानीय तह निर्वाचनमा गठबन्धन विरुद्ध एक्लै प्रतिस्पर्धा गरेको एमालेले सम्मानजनक मत ल्याएको थियो । स्थानीय तहमा वडाध्यक्षमा एमालेले २४ हजार २९५ मत ल्याएको छ । कांग्रेसले १८ हजार २८४ मत ल्याउँदा माओवादीले ४ हजार ४९७ नेकपा समाजवादीले १३०८ र जसपाले ९२३ मत ल्याएका छन् ।
६१ वडा रहेको ताप्लेजुङमा एमाले एक्लैले २९ वडामा अध्यक्ष जितेको छ । कांग्रेसले १५, माओवादीले १०, नेकपा एसले २ वडामा वडाध्यक्ष जितेको छ। ताप्लेजुङमा स्वतन्त्रले ४ वडामा अध्यक्ष जितेको छ ।
ताप्लेजुङमा एमालेबाट योगेशले टिकट नपाए मात्रै आफ्नो उम्मेदवारलाई टिकट दिने नेपाली कांग्रेसले सोच बनाएको छ । योगेशले पाएको खण्डका आफूले नलिएर माओवादीलाई टिकट दिने कांग्रेसको तयारी रहेको कांग्रेस निकट स्रोतले जनाएको छ ।
जिल्लामो योगेशको राम्रो पकड भएकाले कांग्रेसले हराउन आफ्नो उम्मेदवार नउठाउने कांग्रेसका एक केन्द्रीय नेताले बताए । ‘योगेशले टिकट पाए जित्छन् । यो अवस्थामा कांग्रेसले हराउन आफ्नो उम्मेदवार उठाउँदैन,’ ती नेताले भने, ‘योगेशले टिकट पाए माओवादीलाई छाड्छौँ । यदि टिकट पाएनन् भने मात्रै आफ्नो उम्मेदवार खडा गछौँ ।’
ताप्लेजुङ आफ्नो भागमा पर्नुपर्ने माओवादीको अडान छ । माओवादीका जिल्ला स्तरिय नेताहरु जुनै अवस्थामा भए पनि आपूmहरूले टिकट पाउनुपर्ने ढिटमा देखिन्छन् ।
गठबन्धनभित्रको खटपटले ताप्लेजुङमा एमालेलाई सहज हुने देखिन्छ । तर, निर्णय कांग्रेसको हातमा भएकाले ताप्लेजुङको सन्दर्भमा गठबनधन अहिले पर्ख र हेरको अवस्थामा रहेको छ ।
काठमाडौँबाट चुनाव लड्दै आएका भट्टराई २०७४ को निर्वाचनमा ताप्लेजुङ आएका थिए । एमाले–माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका भट्टराईले कांग्रेसका केशव दाहाललाई फराकिलो मतान्तरले पराजित गरेका थिए । भट्टराईले दाहालको भन्दा १२ हजार ६०१ मत बढी ल्याएका थिए ।
भट्टराईले २९ हजार ४७९ मत ल्याउँदा उनका प्रतिद्वन्दी कांग्रेसका दाहालले १६ हजार ८८८ मत मात्र प्राप्त गरेका थिए ।