Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशमा कट्टेलको चर्चा


  • Purbeli Press
  • बिहिबार, भाद्र १६ २०७९

विराटनगर : निर्वाचनको मिति घोषणासँगै केन्द्रीय राजनीतिमा सधैं प्रभावशाली जिल्लाको पहिचान बनाएको मोरङमा सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ ।

मोरङ २ मा विगतका चुनावी परिणाम हेर्दा पाँच दलीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्ला चुनावमा प्रतिस्पर्धा गरेका राजनीतिक दलका पुरानै अनुहारका नेतादेखि स्वतन्त्ररुपमा केही नयाँ उम्मेदवारहरू पनि चुनाव लड्न अघि सरेका छन् ।

२०७४ को निर्वाचनमा कांग्रेसले जितेको मोरङ २ मा यसपटक पनि पूरानै अनुहार दोहोरिने सम्भावना छ । अघिल्लो निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता मिनेन्द्र रिजालले एमालेका उम्मेदवार ऋषिकेश पोखरेललाई १ हजार ८०५ मतले पछि पार्दै निर्वाचित भएका थिए। पोखरेल वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए। रिजालले ३५ हजार ८१९ मत ल्याउँदा पोखरेलले ३४ हजार ०१४ मत प्राप्त गरेका थिए।

२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको मोरङ २ मा अघिल्लो निर्वाचनमा प्रदेश (क) मा नेपाली कांग्रेसका उम्मेदवार शिवनारायण गनगाईले वाम गठबन्धनका माओवादी उम्मेदवार गणेश उप्रेतीलाई पराजित गरेका थिए। गनगाईले १६ हजार ४१८ मत पाएका थिए भने उप्रेतीले १५ हजार १०७ मत प्राप्त गरेका थिए।

प्रदेशमा यसपटक एमालेले मेघराज कट्टेललाई उम्मेदवार बनाउने चर्चा छ। स्थानीय स्तारमा लोकप्रिय रहेका कट्टेलले टिकट पाउने प्रवल सम्भावना छ ।

स्थानीय तहको निर्वाचनमा रतुवामाई नगरपालिकामा मेयर पदको उम्मेदवारी दिने तयारी गरे पनि नेताहरुको आग्रहमा उम्मेदवारी नदिएका कट्टेलले मोरङ २ प्रदेश (क) बाट प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् ।

स्थानीय स्तारमा कुशल नेतृत्वको छबी बनाएका कट्टेलले जनताको सुख दुखमा साथ दिँदै आएका छन् । जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए ।

लामो समयदेखि एमालेको राजनीति गरेका कट्टेल हाल नेकपा एमाले मोरङ जिल्ला कमिटी सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार