विराटनगर । प्रदेश नं. १ को पर्यटन लोगो र ब्राण्ड सार्वजनिक गरिएको छ ।
लोगोमा ‘पृथ्वीको स्वर्ग मेरो प्रदेश’ भन्ने नारा लेखिएको छ । प्रदेश नं १ को पर्यटन तथा संस्कृति मन्त्रालयले असार १५ गते पर्यटन ब्राण्ड र लोगो तयार गर्न पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलले पर्यटन लोगोका साथै १४ जिल्लाको उत्पादनलाई दर्शाउने गरी तयार पारेको पर्यटन ब्राण्ड र प्रतिवेदन एक कार्यक्रमबीच प्रदेश नं १ की पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्बा लिम्बुलाई हस्तान्तरण गरेको छ ।
पर्यटन लोगोमा सगरमाथादेखि केचनाकवल तथा प्रदेश नंं। १ को पहिचानको रुपमा रहेको डाँफे, अर्ना र रेड पाण्डालगायतको प्रतिक चिन्हहरु रहेका छन् । यसैगरी १४ जिल्लाको कृषि तथा अन्य उत्पादनहरु झल्किने चित्रहरु समेत समावेश गरिएको छ ।
‘पृथ्वीको स्वर्ग मेरो प्रदेश’ भन्ने नारा लेखिएको सो पर्यटन लोगो प्रदेश नं १ को मन्त्रीपरिषदले पास गरेपछि सार्वजनिक प्रचार प्रसारमा आउनेछ ।