Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

खोटाङमा ‘ह्याट्रिक’ गर्ने दाउमा एमाले, गठबन्धनमा धेरै आकांक्षी


  • Purbeli Press
  • शनिबार, भाद्र ४ २०७९

विराटनगर : सरकारले आगामी मंसिर ४ गते प्रदेश र संघको निर्वाचनको घोषणा गरेसँगै चुनावको सरगर्मी बढेको छ। पहाडी जिल्लाका नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा जाने र चुनावमा उम्मेदवार बन्नका लागि लबिङ गर्ने अभियानमा तीव्र गतिमा लागेका छन्।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा पनि नेताहरुले कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमलाई तीव्रता दिएर चुनावी प्रचारप्रसारमा लागेका छन्।

खोटाङ नेकपा (एमलो)का प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन जित्दै आएको जिल्ला हो। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका भट्टराईले कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेका थिए।

एमालेका विशाल भट्टराईले ३५ हजार ३७७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सरस्वती बजिमयले २१ हजार ६१२ मत मात्र प्राप्त गरे। २०७० सालमा भएको संविधान सभा निर्वाचनमा भट्टराई तत्कालिन खोटाङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

दुईवटा प्रदेश निर्वाचन क्षेत्र रहेको खोटाङमा २०७४ को निर्वाचनमा एमाले माओवादीको वाम गठबन्धनले दुवै क्षत्रेमा जित्दै कांग्रेसको ‘क्लिन स्वीप’ गरेको थियो।

प्रदेश (क) मा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार राजन राई विजयी भएका थिए। उनले कांग्रेस उम्मेदवार सुवासकुमार पोखरेलको भन्दा ५ हजार ५ सय २२ मत बढी ल्याएका थिए। राईले १८ हजार ९ सय ३३ मत पाउँदा पोखरेलले १३ हजार ४ सय ११ मतमा चित्त बुझाउनु परेको थियो।

यस्तै, प्रदेश (ख) मा  कांग्रेसका उम्मेदवार विष्णुकुमार राईलाई ६ हजार १३३ मतले पछि पार्दै वाम गठबन्धनका माओवादी उम्मेदवार रामकुमार राई पासाङ विजयी भए। रामकुमार राईले  १८ हजार ३ सय ७२ मत पाएका थिए भने विष्णुकुमार राईले १२ हजार २ सय ३९ मत ल्याए।

एमालेले भट्टराईलाई नै दाेहाेर्‍याउने सम्भावना

अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरले विजयी बनेका विशाल भट्टराईलाई यो पटक आफ्नै पार्टीकी उषाकला राईको चुनौती छ। उषाकला राई प्रदेशसभाकी समानुपातिक संसद समेत हुन्। उनले केही समय प्रदेशको सामाजिक विकास मन्त्री भएर पनि काम गरिन्।

पार्टीमा राईभन्दा भट्टराई नै बलियो भए पनि उषाकलाले प्रतिनिधिसभाको टिकटको दाबी गरिरहेकी राई निकट स्रोतले बतायो। उनी पूर्व कानुनमन्त्री शेरबहादुर तामाङकी पत्नि हुन्।

उषाकला राईले एक कार्यकाल प्रदेश संसदको भूमिका निर्वाह गरिसकेकाेले अब संघमा दाबी गर्नु स्वभाविक भएको उनी निकट एक जिल्ला नेताले बताए।

त्यस्तै एमालेबाट रमेश पौडेल, खगेन्द्र राई र रामप्रसाद दंगालको पनि दाबी रहेको छ। तर, विशाल भट्टराईको विकल्प खोज्ने पक्षमा पार्टी नरहको बताइएको छ।

पार्टी फुटेपछिको पहिलो प्रतिनिधि सभा चुनाव सामना गर्न लागेको एमालेले सहज तरिकाले उम्मेदवार छनोट गर्ने बताएको छ। ‘हामी जनताको भावनाअनुसार उम्मेदवार चयन गरेर निर्वाचन जान्छौँ,’ एक एमाले नेताले भने, ‘कुनै पनि गठबन्धनले एमालेलाई परास्त गर्न सक्दैन्। यो पटक पनि एमालेले चुनाव जित्दै कम्युनिस्टको गढलाई कायम राख्छ।’

गठबन्धनबाट धेरै आकांक्षी

गठबन्धनमा रहेका दलका नेताहरू आफ्नो पक्षमा टिकट हात पर्ने दाउमा व्यस्त छन्। कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादी र जनता समाजवादीको गठबन्धन हुँदा खोटाङमा उम्मेदवार छान्न सकस पर्ने देखिन्छ।

खोटाङमा नेपाली कांग्रेसबाट सर्वधन राईले दाबी गरिरहेका छन्। उनका अलावा सुवासकुमार पोखरेल, नरेश श्रेष्ठ, हिरा गुरुङ, विश्वकुमार राई, धर्म पोखरेल लगायतका नेताले पनि आंकाक्षा व्यक्त गरेका छन्।

गठबन्धनमा रहेको अर्को दल नेकपा (माओवादी केन्द्र)बाट रामकुमार राई पासाङको दाबी छ। उनी हाल प्रदेश १ का खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री छन्। माओवादी नेतृ अस्मिता राईले पनि टिकट दाबी गरिरहेकी छिन्।

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका राजन राई पनि प्रतिनिधिसभाका दावेदार हुन्। राई २०७४ को निर्वाचनमा नेकपा एमालेबाट विजयी बनेका थिए। तर, खोटाङ उनको पार्टी कमजोर रहेकाले उनले टिकट नपाउने सम्भावना छ। उनलाई पुनः प्रदेशमै दाेहाेर्‍याउने चर्चा पनि छ।

गठबन्धनबाट खोटाङमा दर्जनौँ आकांक्षी हुँदा आकांक्षीको व्यवस्थान गर्न मुस्किल पर्ने देखिन्छ।

यस्तो छ स्थानीय तहको मत

खोटाङमा दुई नगरपालिका र ८ गाउँपालिका गरी १० पालिका छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध दलहरु मोर्चाबन्दी गरेर लागेका थिए।

१० पालिकामध्ये एमालेले दुई पालिका प्रमुख र दुई वटा पालिकामा उपप्रमुख जितेको छ। एमालेले एसेलुखर्क गाउँपालिका प्रमुख, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख उपप्रमुख र रावाबेसी गाउँपालिकामा उपप्रमुख जितेको छ।

कांग्रेसले ६ पालिकामा प्रमुख र ४ मा उपप्रमुख जितेको छ। कांग्रेसले केपीलासगढी, बराहपोखरी, रावाबेसी, साकेला गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख जितेको छ। त्यस्तै एसेलुखर्क, खोटेहाङ, जन्तेढुंगा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा उपप्रमुख जितेको छ।

माओवादीले खोटेहाङ, जन्तेढुंगा गाउँपालिकामा प्रमुख तथा दिक्तेल रुपाकोट मझुवागढी र साकेलामा उपप्रमुख जितेको छ। खोटाङमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले केपीलासगढी र बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको छ।

७९ वडा रहेको खोटाङमा कांग्रेस ३२, माओवादी २४, एमाले १९, नेकपा एसले २, जसपा १ र स्वतन्त्रले १ वडा अध्यक्ष जितेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार