विराटनगर : आर्थिक पत्रकारको क्षमतावृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, दि एशिया फाउण्डेशन र साउथ एशिया वाच वन ट्रेड, इकोनोमिक्स एण्ड इन्भारोमेन्ट (सावती) को संयुक्त आयोजनामा ‘आर्थिक रिपोर्टिङ : बाह्य क्षेत्र’ विषयक एक दिने तालिम सम्पन्न भएको छ ।
आर्थिक क्षेत्रमा कलम चलाउने ३० जना प्रदेश १ का पत्रकारहरुको सहभागिता रहेको रहेको तालिममा अर्थविद् एवं सावतीका अध्यक्ष डा. पोषराज पाण्डेले प्रशिक्षण दिएका थिए । तालिमको सहजिकरण कान्तिपुर टेलिभिजन प्रदेश नं. १ का प्रमुख महाप्रसाद खतिवडाले गरेको हुन् ।
बाह्य क्षेत्रमा हुने व्यापार व्यवसायले अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने र यसको प्रभाव धेरै क्षेत्रमा पर्ने भएपनि तथ्याङ्गकलाई राम्ररी नकेलाउँदा यथार्थ कुरा बाहिर नआउने भएकाले यस्ता तालिम आवश्यक हुने सावतीका अध्यक्ष डा. पाण्डेले बताए ।
अर्थतन्त्रका सूचक राम्रो भएको देखाउन सरकारी अधिकारी कहिले काँही वास्तविक तथ्याङ्क नदिइ परिवत्र्य मुद्रामा दिने भएकाले यसमा पत्रकार चनाखो हुनुपर्ने पाण्डेको तर्क छ । कहिले काँही परिणाम घटेको भएपनि परिवत्र्य विदेशी मुद्राका कारण रकम बढेको देखिने भएकाले सरकारी कर्मचारीले अवस्था परिणाम नदिइ रकममा मात्र तथ्याङ्क उपलब्ध गराउने गरेको भन्दै डा. पाण्डेले यस्तो अवस्थामा दुबै तथ्याङ्क प्रस्तुत गरेर यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने बताए ।
सही तथ्याङ्क दिन र नैतिकता र इमान्दारिताका साथ आर्थिक रिपोर्टिङ गर्न सुझाव दिँदै पाण्डेले सही तथ्याङ्क र स्रोतको प्रयोग गरी विश्लेषणात्मक औजारको प्रयोग गरी सन्तुलित समाचार सम्प्रेषण गर्न जोड दिए ।
वार्षिक वृद्धि दर, चक्रवृत्ति वार्षिक वृद्धि दर, ट्रेड डिपेन्डेन्सी इन्डेक्स, इम्पोर्ट पेनिट्रेसन इन्डेक्स, मार्जिनल प्रोपेन्सिटी टु इम्पोर्ट, हिर्चम्यान इन्डेक्स, एक्सपोर्ट ड्राइभसि फिकेसन इन्डेक्स, हार्मोनाइज्ड सिस्टम, स्टाण्डर इन्टरनेशनल ट्रेड क्लासिफिकेसन, व्यापार सन्तुलन, वस्तु तथा सेवाको सन्तुलन, चालु खाता सन्तुलन, पूँजीगत खाता सन्तुलन, रिजर्वमा सन्तुलन जस्ता प्राविधिक विषयमा आर्थिक पत्रकारलाई प्रशिक्षण दिइएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक श्याम भण्डारीले बताए ।
बाह्य क्षेत्रको आर्थिक रिपोर्टिङ गर्दा यस्ता प्राविधिक कुराको विश्लेषण गर्न नसक्दा सही कुरा नआउने भन्दै डा. पाण्डेले प्राविधिक विषयको विश्लेषण गरेर समाचार बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकालले देशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान दिने उद्योगी व्यवसायिहरुले अहिले धेरै समस्या भोगीरहनु परेको आर्थिक पत्रकारीताले त्यसलाई उजागर गरि सहजीकरणको भूमीका खेले आर्थिक विकासमा टेवा पुग्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश नं १ मुख्यमन्त्रीमा आर्थिक सल्लाहकार राजेन्द्र राउतले आर्थिक पत्रकारीतामा तथ्य, तथ्यांक विश्लेषण गर्दा तथ्यमा आधारित हुनु पर्ने र आर्थिक क्षेत्रको उन्नतिको लागि सबै क्षेत्रको सहकार्य हुन आवश्यक रहेको बताए ।