काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नागरिकता विधेयकबारे छलफल भएको हो ।
सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयकमाथि छलफलपश्चात् प्रतिनिधिसभाले साउन ७ गते पारित गरेको थियो। त्यस्तै राष्ट्रिय सभाले साउन १२ गते विधेयक पारित गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालयमा पठाएका थिए । राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकमाथि विचार गर्न १५ दिनको समयसीमा छ ।
नेपालको संविधान धारा ११३ को उपधार (३)मा प्रमाणीकरणका लागि पेस भएको विधेयक (अर्थबाहेक)मा पुनर्विचार गर्नु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा विधेयक पेस भएको मितिले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउनसक्ने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने संवैधानिक व्यवस्था छ