विराटनगर : सुनसरीमा घाँस काटेको विषयमा कुटपिट हुँदा एक महिलाको ९ दिनपछि मृत्यु भएको छ । सुनसरीको बर्जु गाउँपालिका ३ की ३४ वर्षीया चन्द्रकलादेवी रायको मृत्यु भएको हो ।
रायलाई छिमेकी सङ्गीता रायसहितका उनका परिवारले घाँस काटेको विषयलाई लिएर गत १३ साउनमा कुटपिट गरेका थिए । खेतमा घाँस काटेको विषयमा चन्द्रकला र संगीताबीच विवाद उत्पन्न भएको थियो ।
विवादका क्रममा संगीताले चन्द्रकलामाथि निर्घात कुटपिट गरेकी थिइन् । कुटपिटबाट घाइते भएकी चन्द्रकलादेवीको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई कोसी अस्पताल विराटनगरमा राखेर उपचार भइरहेको थियो ।
चन्द्रकलाको मृत्युपछि पीडित परिवारले दिएको उजुरीका आधारमा ४० वर्षीय संगीतादेवी रायलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको मोरङ प्रहरीले जनाएको छ । कुटपिटबाट जाहेरी मृत्यु भएको आएको र घटनास्थल सुनसरीमा भएकोले थप अनुसन्धानको लागि सुनसरी प्रहरीमा पढाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।