विराटनगर : सुनसरी र उदयपुरको बीचमा छ, ‘श्रीलंका टापु’। अर्थात वारी सुनसरी पारी उदयपुर। यहाँका स्थानीयलाई अलि ठुलो पानी पर्नासाथ बाढीको त्रासले सताउँछ। यहाँबाट वरिपरी हेर्दा आखाँले नै नभ्याउने सप्तकोसी छ।
पहाडी जिल्लामा पानी पर्न थालेपछि सप्तकोसीमा पानीको सतह बढ्छ, बराहक्षेत्र नगरपालिकामा पर्ने श्रीलंका टापु आसपासमा कटान सुरु हुन्छ। बस्ती नजिकै भएको कटानको असर स्थानीयमा बर्सेनि पर्छ।
स्तरीय तटबन्धन नहुनुको असर हरेक वर्ष कोसीमा आउने बाढीका कारण सैयौं बिगाहा जमिन बगर बन्दै आएको छ। नदी कटानका कारण खेतीयोग्य जमिन त बगर बन्यो नै श्रीलंका टापुको बस्तीसमेत उस्तै जोखिममा पर्ने गर्छ।
टापुका विनोद मण्डलले बुधबार बिहानै कोसीले कटान सुरु गर्यो भन्ने खबर थाहा पाए। त्यसपछि उनलाई घर-खेतको चिन्ताले पिरोन्ल थाल्यो। विस्तारै सानोतिनो बाढी उनको घरतर्फ आउन थाल्यो। घरभित्र पानी पसेपछि सुत्न र बस्न नै समस्या भएको मण्डल बताउँछन्। उनको भएको अलिअलि सम्पत्ति सबै यहिँ भएकाले छोडेर अन्त जान पनि सकेनन्।
सप्तकोसी नदी बस्तीमा पसेपछि उनीसहित सिंगो गाउँ अहिले त्रसित छ। उनीहरु सुरक्षित स्थानतिर जान थालेका छन्।
कोसीले धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी, छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुरूप नगरपालिकासँगै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ७ पनि प्रभावित भएको छ।
यता, उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेमा पर्ने लाहुरखोँचबाट बाँध भत्काएर सप्तकोसी नदी बस्ती पसेपछि गाउँलेको भागाभाग भएको छ। कोसीको बाढी बस्तीमा पसेपछि गाउँलेको बिचल्ली भएको हो। बाढी बस्तीमा पसेपछि पशुचौपायासहित सयौँले गाउँ छाडेका छन्। बाढीले अहिलेसम्म मानवीय क्षति भने भएको छैन।
३४ वर्षपछि सप्तकोसी पुरानै बाटोमा
करिब ३४ वर्षपछि सप्तकोसी नदी पुरानै धारमा फर्किएको छ। अविरल वर्षापछि ठुलो बाढी आउँदा तटबन्ध भत्काएर सप्तकोसी नदी पुरानै धारमा फर्किएको हो।
स्थानीयका अनुसार २०४५ सालतिर कोसी अहिले पसेको ठाउँबाट बग्थ्यो। सप्तकोसी नदीले बुधबार बिहान ४ बजेतिर धार परिवर्तन गरेर बस्तीमा प्रवेश गरेको हो।
पानीको बहाव बढेका कारण टापुमा फसेका मानिसलाई बाहिर ल्याउन पनि समस्या भइरहेको छ। उनीहरुलाई डुंगाको सहायताले नदी तारेर सुरक्षित स्थानमा लैजाने काम भइरहेको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिए।
जोखिममा यी क्षेत्र
सुनसरी हुँदै बगिरहेको कोसी अहिले उदयपुरतिर मोडिएको छ। कोसी पश्चिमतर्फ मोडिएको हो। कोसीले धार परिवर्तन गरेर बस्तीमा पस्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडा जोखिममा छन्। बेलका ३ का अधिकांश क्षेत्र डुवानमा परेको छ।
डुम्रेको लाहुरेकोटबाट कोसीको भंगालो बस्तीमा प्रवेश गर्दा बेलकाको वडा नम्बर ८, ९, ३, २, १ हुँदै सप्तरीतिर प्रवेश गर्छ। बाढीले सुनसरीको बराह क्षेत्रका केही वडा पनि प्रभावित पारेको छ।
उदयपुरतर्फ कोसीले धार परिवर्तन गर्दा बेलका-८ को सिसौली बस्ती, वडा नम्बर ९ को रंशशाला क्षेत्र, वडा नम्बर ३ को जगनाथ, जुलेसी, एबिसी, सिर्जना, एकता, दुर्गा मन्दिर, जाल्पादेवीलगायतका गाउँमा सप्तकोसी बगेको मेयर कार्कीले बताए।
धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी, छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरूप नगरपालिकासँगै सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ७ पनि प्रभावित भएको उनले बताए।
बेलका नगरपालिकाका ५ वटा वडा पुरै डुबानमा पर्दा करिब २६ हजार नागरिक प्रत्यक्ष प्रभावित हुने मेयर कार्कीले बताए।
घर जान समस्या
श्रीलङ्का टापुका अर्जुन चन्द्रवंशीलाई घर जान समस्या छ। उनी काम विशेषले हिजो (मंगलबार) इनरुवा गएका थिए। घर फर्कन ढिला भएपछि उनी सुनसरीकै प्रकाशपुरमा बसे।
कोसीले धार परिवर्तन गरेपछि उनको घर जाने बाटो थुनिएको छ, उनलाई अब बस्ती कसरी जाने भन्ने तनाब छ।
बाढी रोक्ने प्रयास विफल
स्थानीय सरकारको स्रोत, साधनको अधिकत्तम प्रयोग गरि कोसी नियन्त्रणको प्रयास विफल भएको छ। स्थानीयले कोसी कटान रोक्न श्रमदान गरे पनि कोसी बस्तीमा पसेरै छाड्यो।
सप्तकोसीको बहाव बढिरहेकाले यसको संकेत पहिले नै देखिएकाले नियन्त्रणको काम अघिबाटै भइरहेको वडा नम्बर ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले जानकारी दिए।
बाढी प्रभावित क्षेत्रमा जान रोक
बाँध फुटेको ठाउँमा प्रवेश गर्न स्थानीय प्रशासनले निषेध गरेको छ। कटान क्षेत्र छेउछाउ गएर टिकटक भिडियो बनाउनेहरूको भीड लागेपछि त्यसलाई निषेधित क्षेत्र घोषणा गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए।
यादवले मानवीय क्षति रोक्न र उद्धारको काम प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरेको बताए। ‘उद्धारको कामलाई तिव्र बनाएको छौँ,’ उनले भने, ‘रबर बोट र नेपाल प्रहरीको रेस्क्यु टिम कटान क्षेत्रमा पुगिसकेको छ।’