विराटनगर : एक वर्षीया बालिकालाई विराटनगरबाट अपहरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बुढीगंगा–१ बस्ने दिपेन यादवकी १ वर्षकी छोरीलाई अपहरण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विराटनगर–५ की अनु साह र विराटनगर ६ रामपुर बस्ने २७ वर्षका रविन्द्रकुमार साह रहेका छन् ।
उनीहरुले बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने योजना बनाउँदै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेर उनीहरुको योजना विफल बनाएको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले बताए ।
बालिकालाई उनीहरुले विराटनगर १२ रोड शेष चोक छेउबाट गत साउन २ गते बिहान ९ बजे अपहरण गरेका थिए ।
खोजी गर्ने क्रममा बुधबार बिहान ८ बजे नेपाल भारतको बोर्डर एरियाबाट अपहरित बालिकाको सकुशल उद्धार गरिएको डीएसपी कार्कीले जानकारी दिए ।
रविन्द्रको योजनामा अनुले दीपेन्द्रलाई छोरीसहित भेट्न बोलाएर विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट नाबालिकालाई लिएर हिँडेकी थिइन् । लगत्तै उनले प्रहरी कहाँ छोरी अपहरित भएको भन्दै उजुरी दिएका थिए ।
अनुसन्धानका क्रममा उनले राजविराजमा बालिकालाई हस्तान्तरण गरेका व्यक्तिले उनलाई भारत, बिहारको दरभंगामा लगेको पाइएको थियो ।
बालिकाको अपहरणमा संलग्न भएकी अनुको दीपेन्द्रसँग पुरानै चिनजान रहेको प्रहरीको जनाएको छ ।
घटनाका योजनाकार रविन्द्र साहले बुढीगंगा १ मा श्रीराम टेडर्स संचालन गर्दै आएका छन् । उनलाई ट्रेडर्सबाटै प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरु दुवैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । फौजदारी संहिता २०७४ अनुसार निज प्रतिवादीहरुलाई ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाखसम्म जरिमाना हुने व्यवस्था छ ।
प्रहरीले उनीहरुको साथबाट ५ थान मोबाइल, बेबी फिडिङको खाली प्याकेट १ थान, मोटरसाइकल १ थानलगायत बरामद गरेको छ