नियनत्रणमा लिइएको बर्जु गाउँपालिकाको गाडी
विराटनगर : सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडीको दुरुपयोग बढ्दै गएको छ । विदाको दिन सरकारी गाडीको अत्याधिक दुरुपयोग हुन थालेपछि धरानका युवाहरुले खबरदारी थालेका छन् ।
पछिल्लो समय जनप्रतिनिधि र सरकारी कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेका हुन् । सरकारी गाडी दुरुपयोगको अनुगमनका लागि धरानको भानुचोकमा बसेर युवाहरुले शनिवारदेखि खबरदारी अभियान थालेका छन् ।
पहिलो दिननै उनीहरुले प्रदेश सरकारका मन्त्रीदेखि गाउँपालिकाको सरकारी गाडी लिएर हिँड्नेलाई कडाइ गरेका छन् । शनिवार बिहान धनकुटा जाँदै गरेकी प्रदेश १ सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको मे १ झ १४३ नंम्बरको सरकारी गाडीलाई युवाहरुले भानुचोकमा रोकेर खबरदारी गरेका थिए । धनकुटाको डाँडाबजारमा आयोजित कार्यक्रममा सहभागि हुन गएको खुलाएपछि उनीहरुले मन्त्रीको गाडी छोडेका थिए ।
धरानका युवाहरुले सुनसरीको बर्जु गाउँपालिकाको गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । आजै मात्र एक दर्जन बढी सरकारीलाई खबरदारी गरेर छाडिएको धरानका स्थानीय युवा रमेश हतुवालीले बताए । हतुवालीका अनुसार तराइमा गर्मी बढेकाले विदाको दिन सरकारी गाडीको प्रयोग गरी भेडेटार, नमस्ते झर्ना लगायत ठाउँमा घुम्न जानेको क्रम बढ्दो छ ।
सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्ने प्रावधान छ । सरकारी कामबाहेक शनिबारको दिन सरकारी सवारीसाधन चलाउन नपाइने नियमको सरोकारवालाले नै उल्लंघन गर्ने गरेका छन् । अति आवश्यक कामका लागि प्रशासन कार्यालयको अनुमतिले मात्र सरकारी कामका लागि सञ्चालन गर्न पाउने व्यवस्थाविपरीत कार्य हुने गरेको छ ।