विराटनगर : मंगलवार दिउँसो विराटनगरको गुरुकुलमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि थिए प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई ।
बिहानको करिब १० बज्दा नबज्दै आरोहण गुरुकुलको सभाहलमा मान्छेको चाप बढिसकेको थियोे । सभाहलभरी मान्छे भर्रिसकेका थिए ।
प्रदेश १ सरकारले आयोजना गरेको कार्यक्रम समयमा नै शुरु हुने आशा सहित उपस्थित भएका थुप्रै स्रष्टाहरु कार्यक्रम शुरु गर्नका लागि दिईएको समय १० बजेको सेरोफेरोमा उपस्थित भईसकेका थिए ।
पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा प्रदेश १ का १९ जना स्रष्टालाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिएको थियोे । पर्यटन तथा संस्कृती मन्त्री खिनु लङ्वा लिम्बु साँढे १० बजे भन्दा अगाडी नै कार्यक्रममा आईसकेकि थिईन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री राजेन्द्र राई भने निर्धारित समयमा कार्यक्रममा पुगेनन् । कार्यक्रममा सहभागीका अनुसार मुख्यमन्त्री राई निर्धारित समयभन्दा डेढ / दुई घण्टा ढिलो आइपुगे । ‘मुख्यमन्त्री आउँदासम्म हामी दिक्क भईसकेका थियौँ,’ कार्यक्रमा सहभागी हुन आएका एक स्रष्टाले भने, ‘हामीलाई समयमा नै कार्यक्रम शुरु होला भन्ने लागेको थियो तर निक्कै ढिला भयो ।’
गलजकार विनोद घिमिरेले बिहान १०ः३० बजे हुने भनेको कार्यक्रम भनेर दिउँसो १ बजेर १५ मिनेटमा बजे सुरु गर्नु भनेको संसारको सबै भन्दा लज्जास्पद र हास्यास्पद कार्यक्रम भएको बताएका छन् । उनले प्रदेश सरकारको मुख्यमन्त्री जस्तो जिम्मेवार व्यतिबाट दुई घण्टा ढिलो कार्यक्रममा उपस्थित हुनु भनेको गैर जिम्मेवार देखिएको बताए ।
कार्यक्रम स्थल फितलो भएको बताउँदै उनलेे यति धेरै स्रष्टालाई सम्मान गर्दा सम्मानित सर्जक कहाँ छन्, दुरविन लगाएर खोज्नु पर्ने अवस्था भएको बताए ।
तात्कालिन सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने परम्पराको थालनी गरेका थिए । त्यही पराम्परालाई निरन्तरता दिँदै यो बर्ष १९ जना स्रष्टालाई नगद सहित सम्मान गरिएको छ ।
सरकारले यो बर्षको बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान २०७९बाट दुई जनालाई सम्मान गरेको छ। प्रा. डा गोविन्द तुम्वाङलाई र प्रा.डा. कालुराम खम्बु पुरस्कृत भए ।
प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान २०७९ बाट मनु मन्जिल, गोवर्धन तामाङ , विजय श्रेष्ठ, भरत गुरागाई, ममता गिरी, गोपाल देवान, वीरबहादुर लाप्चालाई पुरस्कृत गरिएको छ। हरि कट्टेल, मान सिंह थुलुङ, महेन्द्र राई, जयन्तीरमण कण्ठ, नवराज राई लाई पनि पुरस्कृत गरिएको छ।
त्यस्तै नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार २०७९ बाट ५ जना पुरस्कृत भएका छन् । लीला उप्रेती, यशोदाकुमारी लम्साल, चेतन आङ्थुपो, मधुराज केरुङ र विमला चिमोरिया पनि पुरस्कृत भएका छन् ।
सम्मानको विरोध
स्रष्टा सम्मान कार्यक्रमको नेपाल मैथिली एसोसिएसन नेपालले विरोध जनाएको छ। भाषाभाषीको साहित्य र कलाको सम्मान गर्न नसकेको भन्दै एसोसिएसनले कालो ब्यानर सहित कार्यक्रम स्थल बाहिर बिरोध गरेको हो ।
एसोसिएसनका अध्यक्ष प्रबिन नारायण चौधरीले यो सम्मानले मैथिली भाषामाथि दमन र अपमान गरेको बताए । यति धेरै पुरस्कारमा एक जना पनि मैथिली कलाकार नपर्नु दुर्भाग्यपूर्ण भएको उनको भनाई छ।
मैथिलीसँग सम्बन्धित संघसंस्थालाई उपेक्षा गरेको मैथिली विकास अभियान अध्ययनका अध्यक्ष पंकज बर्माले बताए । ‘सबै बिधालाई पुरस्कृत गरिँदै छ भने कुनैपनि बिधालाई छोड्नु हुँदैन थियो,’ उनले भने, ‘हाम्रो मैथिली बिधाको श्रष्टालाई उपेक्षा गरिएपछि हामी बिरोध प्रदर्शनमा नै उत्रिनु पर्ने अबस्था आयो ।’
मैथिली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिने मधेशी जो सुकै नेपालीलाई सम्मान तथा पुरस्कार दिनु पर्ने उनीहरुको माग थियो ।
विरोधमा आएका मैथिली अभियानकर्मीले मुख्यमन्त्री राईको समेत ध्यानार्षण गराएका थिए ।
मुख्यमन्त्री राईले भने आगामी बर्ष अहिलेको विषयलाई सम्बोधन गर्ने आश्वासन दिएका छन् ।