विराटनगर। प्रदेश १ सरकारले चालु आर्थिक वर्षको भूक्तानी दिने अन्तिम दिन शनिबार ३ अर्ब ६० करोड ८३ लाख खर्च गरेको छ ।
असार महिनाको २५ गतेसम्ममा प्रदेश सरकारले जम्मा खर्चको ३१ दशमलव ९६ प्रतिशत अर्थात् ९ अर्ब ६७ करोड ८१ लाख ९६ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेशको जम्मा बजेट ३४ अर्ब ७६ करोड ८ लाख ५३ हजारमध्ये ८७ दशमलव १३ प्रतिशत अर्थात् कूल ३० अर्ब २८ करोड ६८ लाख १ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ऋषि खनालले बताए । प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ल्याएको ३२ अर्ब ४६ करोड ९१ लाखको बजेटमा संघीय सरकारले पठाएको सशर्त अनुदान थपिएर बजेटको आकार बढेको खनालले बताए ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुँजीगत खर्च ९० प्रतिशत पुर्याउने गरेको घोषणा पूरा गरेको छ । प्रदेश सरकारले पुँजीगततर्फ ८९ दशमलव ८१ प्रतिशत खर्च गरेको लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालुतर्फको बजेट १५ अर्ब ९६ करोड ९९ लाख ७८ हजारमध्ये ८४ दशमलव १५ प्रतिशत अर्थात् १३ अर्ब ४३ करोड ८३ लाख ५० हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड ८ लाख ७५ हजारमध्ये १६ अर्ब ८४ करोड ८४ लाख ५० हजार खर्च गरेको छ । प्रदेश सरकारले गत वर्षको तुलनामा खर्च धेरै बढाउन सकेको छैन । गत वर्षको तुलनामा यस वर्ष बजेटको आकार कम रहेकाले खर्च प्रतिशत बढेको हो । प्रदेश सरकारले गत आर्थिक वर्षको असार महिनामा मात्रै कूल बजेट ४३ अर्ब ४० करोड ८५ लाख ५० हजारमध्ये २३ दशमलव २२ प्रतिशत अर्थात् १० अर्ब ७ करोड ८२ लाख १७ हजार खर्च गरेको थियो । प्रदेश सरकारले गत वर्ष कूल बजेटको ६४ दशमलव ३९ प्रतिशत अर्थात् २७ अर्ब ९५ करोड १२ लाख ६० हजार खर्च गरेको थियो । गत वर्ष असार महिनामा कूल खर्चको ३६ प्रतिशत प्रदेशमा खर्च गरेको थियो ।
गत वर्षको तथ्यांक हेर्दा चालु आर्थिक वर्षमा असार महिनामा गर्ने खर्चमा थोरै भए पनि कमी आएको छ । तर भुक्तानी दिने अन्तिम दिन प्रदेश सरकारले कूल खर्चको ११ दशमलव ९१ प्रतिशत खर्च गरेकोमा अर्थविद्हरुले आशंका व्यक्त गरेका छन् ।