विराटनगर : संखुवासभाको मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाइएको छ।
जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावासको फैसला सुनाएको हो। संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजशवले यस्तो फैसला सुनाएको हो।
पक्राउ परेकामध्ये १७ वर्षीय एक किशोरलाई भने २५ वर्षलाई आजीवन कारावासको अवधि मानेर त्यसको दुईतिहाइ बराबर हुने करिब १६ वर्ष कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए। प्रतिवादी ४ जनाबाट जनही दुई लाखका दरले जम्मा ८ लाख रूपैयाँ क्षतिपूर्ति भराउने आदेश भएको श्रेस्तेदार गौतमले बताए।
प्रहरीले एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर, २८ वर्षीय लोकबहादुर कार्की, उनका बुबा ४९ वर्षीय रणबहादुर कार्की र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको थिए।
नरेशबाहेकका चार जनालाई आजीवन कारावासको फैसला भएको हो। १७ वर्षीय नरेशलाई भने २५ वर्षलाई आजीवन कारावासको अवधि मानेर त्यसको दुईतिहाइ बराबर हुने करिब १६ वर्ष कारावासको फैसला गरेको छ। उनीहरू पाँचै जना मृतक तेजबहादुरका नातेदार हुन्।

हत्याकाण्डमा मृत्यु भएका एकै घरमा ६ सदस्य
उनीहरुले गत २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको हत्या गरेका थिए।